चितवनः लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग वढी गरेको पाईएको छ । सुरुका दिनमा अण्डा बिक्रि गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्रि गरे संगै अण्डाको भण्डारण गर्नुपर्ने अबस्था नआएको कृषक बताउँछन् ।
लकडाउन संगै अण्डा ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रति क्रेट रु १ सय ५० सम्ममा झरेको अण्डाको मूल्य आज रु २ सय ७० पुगेको छ । अण्डा उत्पादक कृषक मदन पोख्रेलले रु २ सय ७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको वताउनुभयो । उहाँका अनुसार अहिले कृषकसंग गोदाममा अण्डा छैन ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको बताउनुभयो । लकडाउनमा घर वस्नेहरुले अण्डाको उपभोग निकै वढाएको उहाँको भनाई छ । २÷४ वटा अण्डा प्लास्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको उहाँ बताउनुहुन्छ । लकडाउन अघि सम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकोमा यो संख्या घटेर २५ लाख हाराहारीमा झरेको केसीको भनाई छ ।
लकडाउनमा दाना खुवाउन कठिन हुने र अण्डा बिक्रि गर्न नसकीने ठानेर कृषकले कुखुरालाई कम दाना खुवाउने, ठूलो हुँदै गएको कुखुरा वेच्ने र मोल्टीङ गर्ने गरेका कारण अण्डाको उत्पादन घटेको उहाँ बताउनुहुन्छ । डा. शरण पाण्डेका अनुसार मोल्टीङ गर्दा दाना नखुवाएर कुखुराको शरिरको तौल घटाउने र अण्डा उत्पादन शुन्य सम्म झारिन्छ । यसो गर्दा पछि उत्पादन वढ्ने गर्दछ ।
अण्डाको मुख्य वजार काठमाडौं हो । काठमाडौंका धेरै मानिस बाहिरीदा पनि अण्डाको माग भईरहेको व्यवसायीहरु बताउँछन् । नेपाल अण्डा उत्पाखक संघ केन्द्रिय समितिका पूर्ब अध्यक्ष त्रिलोचन कंडेल अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट रु ११.५३ भएको भन्दै लकडाउनमा विक्रि गर्न पाउँदा पनि राहत मिलेको बताउनुहुन्छ ।
राज्यले सम्बोधन नगरे कुखुरा पालन क्षेत्र अस्तव्यस्त हुने उहाँको भनाईछ । लकडाउनमा अण्डाको खपत भैरहनुलाई भने उहाँ सकारात्मक रुपमा लिनुहुन्छ । उपभोक्ताले अण्डालाई सुरक्षीत खानाको रुपमा लिएको पाईएको छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारी सुरक्षीत तरिकाले उपयोग गर्न सके अण्डा राम्रो खाद्य वस्तु भएको बताउनुहुन्छ ।
अण्डालाई घरमा ल्याए पछि सुरक्षीत ठाउँमा भण्डारण गरि सावुन पानीले हात धुन उहाँ सुझाउनुहुन्छ । अण्डालाई राम्रो संग पकाएर खाँदा राम्रो पोषण प्राप्त हुने गर्दछ । अधिकारीले भन्नुभयो “अण्डामा सबै थोक छ, सेतो भागमा वढी प्रोटीन छ, पहेलोमा भिटामीन वि १२, प्रोटीन जस्ता महत्वपूर्ण पोषण तत्व छ ।”
लकडाउनमा घरमा वस्नेहरुले सुरक्षीत ठानेरै अण्डा खाने गरेको उहाँ बताउनुहुन्छ । नेपालमा अण्डा बितरणमा अग्रणी संस्था किसान दाना उद्योग प्रा.लिका प्रबन्ध निर्देशक विनोद पोख्रेलका अनुसार लकडाउनको सुरुका दिनमा समस्या भएपनि त्यसपछि विक्रीमा समस्या छैन । मूल्य क्रमश वढ्दै गएको छ । दैनिक यस कम्पनीले आफ्नो ४ सय र किसानको ६ सय पेटी अण्डा संकलन गरेर बिक्रि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !