चितवनः लकडाउनका कारण रगतको अभाव भईरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्वबियू र राष्ट्रिय युवा संघ जिल्ला कमिटि चितवनले अभियानको रुपमा रक्तदान कार्यक्रम थालेका छन् ।

अनेरास्वबियू चितवनका संयोजक प्रकाश आचार्यका अनुसार बैशाख ११ गते भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरबाट घुम्ति रक्तदान कार्यक्रम सुरु गरिएको हो । पहिलो दिन ८१ जनाले रक्तदान गरेका थिए । त्यस पश्चात वैशाख १५ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ का २ स्थानमा रक्तदान गरिएको थियो । सो दिन ८७ जनाले रक्तदान गरेको आचार्यले जानकारी दिनुभयो । आज भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित सप्तगण्डकी वहुमुखि क्याम्पसमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।

आजको कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुभारम्भ गर्नु भएको थियो । अखिलका जिल्ला सदस्य सचेत सुवेदीका अनुसार यहि बैशाख २० गते भरतपुर महानगरपालिका वडा नम्बर १२, २२ गते वडा नम्बर २४ मा रक्तदान कार्यक्रम हुँदै छ । जेठ १ गते युवा बिद्यार्थी स्थापना दिवस हो । सो दिन खैरहनी र त्यस अघि पूर्बी चितवनको खोलेसिमल र बकुलहरमा रक्तदान कार्यक्रम गरिने सुवेदीले जानकारी दिनुभयो ।

जिल्लामा दैनिक जसो रगतको अभावका कारण रक्तदाता जुटाउनु पर्ने बाध्यतालाई केही हद सम्म सहयोग पुगोस भन्ने उद्देश्यले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर घुम्ति रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । एकै ठाउँमा रक्तदान गर्दा भिड वढि हुने भएकाले ठाउँठाउँमा रक्तदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !