
रुत्ननगरः पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण सुरु गरेको छ । २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाको लगानीमा निर्माण सम्पन्न हुने सो आकाशेपुलको विहीवार नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले सयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।
गत फागुन महिनामा सम्झौत गरिएको सो आकाशेपुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुने इन्जिनियर पंकज गिरीले जानकारी दिनुभयो । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशेपुल निर्माण सुरु गरेको हो ।
नगरपालिकाले आकाशेपुल निर्माण हुने स्थन वरपर विजुलीको तार भूमिगत गर्ने छ । त्यसका लागि ४० लाख रुपैया विनियोजन गरिएको छ । आकाशेपुल निर्माणको लागि भरतपुर स्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारेको छ ।
दुबै तर्फबाट आवत जावत गर्न मिल्ने गरी ४० मिटर लम्वाई र साढे ५ मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुने छ । यहाँ नेपालमै पहिलो पटक स्टीलका सामाग्रीहरु प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रबक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो । आकाशे पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
आकाशेपुल निर्माणको लागि २०७६ फागुन २ गते सम्झौता गरिएको र २०७७ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने छ । आकाशेपुल चालु आर्थिक बर्षको महत्वपूर्ण आयोजना भएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको प्रमुख वनले बताउनुभयो ।
शहरीकरणको विस्तार,सवारी दुर्घटना न्यूनीकरण र नगरलाई विकासको उचाइमा पु¥याउन आकाशेपुल निर्माण सुरु गरिएको प्रमुख वनको भनाईछ । सो नगरपालिकाले टाँडीचोक, सौराहाचोक र बकुलहर चोका आकाशेपुल निर्माण गर्ने योजना बनाएको थियो । अर्को बर्ष सौराहाचोकमा आकाशेपुल निर्माण सुरु हुने छ ।
शिलान्यास कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, वडाध्यक्षहरु तथा नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।