नेपाल प्रेस युनियन चितवनले समाचार लेखेकै कारण पत्रकार सुबास पण्डितलाई आएको धम्की प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज (बुधबार) अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै प्रेस युनियन चितवनले अनलाईनखबर डटकममा कार्यरत सुवास पण्डित लगायतका पत्रकारहरुलाई लक्षित गरी दिईएको धम्की र गालीगलौचप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएका हो ।

भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पतालमा कार्यरत कर्मचारीहरुबाट अस्पतालमा भएका शंकास्पद गतिविधिका सन्दर्भमा लेखिएको समाचारलाई लिएर पत्रकारलाई दिईएको धम्कीको युनियनले भर्त्सना गरेको छ ।
“भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पतालमा कार्यरत कर्मचारीहरुबाट अस्पतालमा भएका शंकास्पद गतिविधिका सन्दर्भमा सञ्चार माध्यममा आएका समाचारलाई लिएर आएका धम्की र गालीगलौजप्रति नेपाल प्रेस युनियन चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । मुख्य रुपमा अनलाईनखबर डटकममा कार्यरत पत्रकार सुवास पण्डित लगायतका पत्रकारहरुलाई लक्षित गरी दिईएको धम्कीप्रति युनियन घोर भर्त्सना गर्दछ” बिज्ञप्तीमा भनिएको छ ।

युनियनले समाचारमा चित्त नबुझे कानुनी उपचारको मार्ग हुँदा हुँदै पनि दिईएको धम्की समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको जनाएको छ । उसले पत्रकारलाई धम्की दिने अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले चितवनलाई कारबाहीको माग गरेको छ ।

यस्तै सत्तामा रहेका जिम्मेवार दलबाट नै समाचार लेख्न रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको युनियनको निष्कर्ष छ ।
युनियनले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न प्रशासनसंग जोडदार माग गरेको छ ।

भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुबाट भएका शंकास्पद गतिविधिका सन्दर्भमा आएका समाचारलाई लिएर अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकारलाई धम्की दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !