
चितवनः लकडाउन संगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजबाट सुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरे संगै आकस्मिक बाहेकका सेवा वन्द भएका थिए ।
अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार आजबाट बिहान १० वजे देखि १२ वजे सम्म अस्पतालमा आएका बहिरंगका बिरामीहरुलाई सेवा दिन थालिएको छ । बिहान ९ः३० वजे देखि ११ वजे सम्म टिकट काट्ने र दुई घण्टा परिक्षण गर्न सकीने उहाँले जानकारी दिनुभयो ।
सामाजीक दुरी कायम गर्नका लागि अस्पतालले बिभिन्न १४ वटा बिभागलाई फरक ठाउँ व्यवस्थापन गरेको छ । कतिपय पहिलेकै ठाउँ छन् भने कतिपय नयाँ स्थानमा व्यवस्थापन गरिएको छ । गत वर्षहरुमा यतिवेला दैनिक २ हजार बिरामी बहिरंग सेवामा आउने यस अस्पतालमा लकडाउनका कारण उपचारका लागि आएका बिरामी त्यसै फर्कनु पर्ने बाध्यता रहेको थियो ।
भरतपुर अस्पताललाई कोरोना रोगको दोस्रो श्रेणीका बिरामी उपचार गर्ने अस्पतालको रुपमा राखिएको छ । तिवारीका अनुसार हाल अस्पतालमा एक जना कोरोना रोगका संक्रमित भए पनि उनलाई बिशेष ढङ्गबाट निगरानीमा राखिएकाले अन्य जोकोहीलाई खतरा छैन ।
अस्पतालले सेवा सुरु गरे संगै पहिलो दिन १ सय २० जनाले उपचार लिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । केन्द्रिय स्तरको यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा ३ लाख भन्दा बढि बिरामीले अस्पतालबाट सेवा लिदै आएका छन् ।
काठमाडौंको प्रसुती गृह पछि धेरै प्रसुती गराउने अस्पताल भरतपुर हो । गत वर्ष १३ हजार ५ सय ४५ जनाको प्रसुती यसै अस्पतालमा भएको थियो । न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको वहिरंग सेवा नपाए पछि बिरामीले दुःख पाएको समाचार राससले गत साता प्रकाशीत गरेको थियो ।