भरतपुर । स्थलगत रिपोर्टिङका क्रममा रहेको पत्रकारहरुलाई दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गरिएको छ । सोमबार भरतपुरको चौबिसकोठीमा रिपोर्टिङमा रहेको कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएममा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुव्र्यवहार गरी नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघ चितवन शाखाले जनाएको छ ।
महासंघ, नेपाल प्रेस संगठन र नेपाल प्रेस युनियन चितवनले सोमबार संयुक्त बिज्ञप्ति जारी गरी पत्रकार दुव्र्यवहार र नियन्त्रणमा लिने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् । परिचयपत्र देखाएर सञ्चारकर्ममा नै खटिएको भनी पटक पटक जानकारी गराउँदा पनि प्रहरीले पत्रकारका सवारी साधन समेत नियन्त्रणमा लिई कभर्ड हलमा लगेर क्वारेन्टाइनमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारले खिचेको फोटो, भिडियो समेत डिलिट गर्न लगाई सञ्चारकर्मी र सञ्चार साधनलाई नियन्त्रणमा लिइनु खेदजनक रहेको महासंघका अध्यक्ष राधेश्याम खतिवडाले वताए । महामारीको अवस्थामा समेत अग्रपंक्तिमा रहेर जनतालाई सूसुचित गराउने काममा खटिएका पत्रकारलाई जबरजस्ती पक्राउ गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस संगठन चितवनका संयोजक प्रकाशमणि ज्ञवालीले माग गरे ।
त्यस्तै, पत्रकारहरुको सुरक्षामा संवेदनशिल रहन र स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण तयार पार्न नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !