काठमाडौंः वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएकी एक युवतीलाई आरडीटी पोजेटिभ भएको पाइएको छ । उनलाई तीनपटकसम्म परीक्षण गर्दा पनि पोजेटिभ देखिएको थियो । उनी वीरगन्ज १० अशोकबाटिकाकी स्थानीय हुन् ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई वीरगन्जको एक अस्पतालमा राखिएको थियो । उनको आरडीटी पोजेटिभ आएपछि थप उपचारका लागि नारायणी अस्पतालमा पुर्याउनासाथ उनको मृत्यु भएको थियो । उनलाई यसअघि पनि भरतपुरको क्यान्सर अस्पतालमा उपचार गरिएको थियो ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दिएको जानकारीअनुसार उनलाई अस्पताल ल्याइपुर्याएर एम्बुलेन्सबाट ओराल्नासाथ मृत्यु भएको थियो । “उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि पठाइएको छ,” उहाँले भन्नुभयो “मृत्यु भएकी युवतीलाई ब्लड क्यान्सर भएको पाइयो । यसअघि उनले भरतपुरमा उपचार गराएकी रहिछन् ।”