काठमाडौंः नेपाली कांग्रेसले गठन गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका श्रममन्त्री) डिला संग्रौलाले विदेशमा अलपत्र नेपाली श्रमिकहरूको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

उनले आइतबार श्रममन्त्री रामेश्वर राय यादवलाई ज्ञापनपत्र पठाएर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक नराम्ररी प्रभावित भएको जनाउँदै विदेशमा अलपत्र श्रमिकहरूको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसँग माग गर्नुभएको हो ।
संग्रौलाले विभिन्न मुलुकमा कोरोनाबाहेकका कारणले ज्यान गुमाएका एक सयभन्दा बढी श्रमिकको शव भएको जानकारी आएको र उनीहरूको शव यथाशीघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउनसमेत माग गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीपछि सिर्जना हुने भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्वतयारी गर्न आवश्यक रहेको भन्दै उहाँले आन्तरिक रोजगारी सिर्जना र प्रवर्द्धनन गर्ने कार्यक्रम तत्काल ल्याउन माग समेत गर्नुभएको हो ।

“मुलुक एक महिनाभन्दा बढी समयदेखि पूर्ण लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान–बेलुका छाक टार्नेहरू ठूलो समस्यामा परेका छन् । सरकारले यस्ता विपन्नवर्गका लागि ल्याएको राहतमा आम श्रमजीवीको पहुँच पुग्न सकेको छैन,” संग्रौलाले ज्ञापनपज्ञमा भनेकी छन्, “निम्न वर्गका मजदुरहरूका लागि तत्काल राहत प्याकेज घोषणा गरी उनीहरूलाई दिलाइयोस् ।”

न्यून आय भएका, एकल महिला, अपांग, गरिबीको रेखामुनि रहेका र सीमान्तकृत समुदायका मानिसको पहिचान गरी कम्तिमा आगामी ६ महिनाका लागि न्यूनतम मासिक पाँचदेखि सात हजार रुपैयाँ तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन तथा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरूका लागि कम्तीमा तीन महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था गर्न समेत छाया श्रमकन्त्री संग्रौलाको माग छ ।

प्रतिक्रिया दिनुहोस !