काठमाडौं । सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै स्वरूप परिवर्तन गर्नेगरी प्रस्ताव तयार पार्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएका थिए । आज बसेको समितिको बैठकमा विभिन्न मोडालिटीबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा कुनै हालतमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन मन्त्रीहरूले सुझाव दिएका थिए ।
“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” सञ्चार कर्मीहरु संग कुरा गर्दै उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भन्नुभयो ।
उत्तर, दक्षिण दुवैतर्फको सीमानाका भने अनिश्चतकालसम्म बन्दै राख्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।
“हामी भू–बनोटका हिसाबले पनि दुई ठूला मुलुकको चेपुवामा छँदैछौं, कोरोनाका दृष्टिले पनि हाम्रो अवस्था त्यही छ । भारतमा सङ्क्रमण बढ्दो रूपमा रहेकाले हाम्रो चुनौति नै खुला सीमा हो । नाका खोल्ने होइन, तराई क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ भन्ने सुझावहरू आएका छन् । यी सबै सुझावलाई व्यवस्थित, एकतृत गरेर आजै साँझ ठोस प्रस्ताव तयार पार्छौं र आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्छौं,” मन्त्रीले जानकारी दिएनुभयो।
लकडाउनकै कारण सङ्क्रमण फैलन नपाएको निष्कर्ष निकाल्दै समितिले आन्तरिक एवम् बाह्य उडान स्थगन नै राख्ने सुझाव आएको थियो । तदनुरूप समितिले जेठ २ गतेसक्क आन्तरिक एवम् बाह्य उडान रोक्ने निर्णय गरेको छ ।