
भोजपुरः हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमित पुुष्टि भएको ४० घण्टा बितेको छ । कोरोन सङ्क्रमित भएपछि ती पुरुषलाई उपचारका लागि अस्पताल नपठाएर उनको स्वास्थ्यमाथि खेलबाड गरिएको छ ।
शुक्रबार उनलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी गरिएको थियो । ‘कोरोना सङ्क्रमित पुरुषसँग उनको परिवार, भलिबल खेलेका र सँगै खाएकाहरुको स्वाब लिने काम राति अबेरसम्म भएको कारण पठाउन सकिएन,’ हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनलगायतले यो विषयमा समन्वय गर्नुपर्ने थियो । तर खासै केही भएन ।’ गएको ३० फागुनमा साउदीबाट काठमाण्डौ हुँदै चैत्र ११ गते भोजपुरको होम्ताङस्थित घर पुगेका उनको ९ गते बैशाखमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो ।