चितवनः कोरोना भाईरसको संक्रमण देखिए पछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका छोरा कोरोना भाईरस मुक्त भएका छन् । दुई पटक गरिएको पिसिआर परिक्षणमा कोरोना नेगेटिभ देखिए पछि उनी भाईरस मुक्त भएका हुन ।
उनी संगै रहेकी आमाको दोस्रो पिसिआर परिक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लगातार दुई पटक गरिएको परिक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारीक रुपमा डिस्चार्ज र बिदाई गरिने कार्यक्रम रहेको छ ।
आमा अस्पतालमानै रहनु पर्ने भएकाले उनी आमालाई कुर्ने गरि अस्पतालकै छुट्टै क्वारेन्टाईनमा बस्ने वा घरको क्वारेन्टाईनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उहाँलाई हामी आज दिउँसो औपचारीक रुपमा डिस्चार्ज गरेर क्वारेन्टाईनमा बस्न लगाउँछौ ।” कम्तीमा उनी एक साता क्वारेन्टाईनमा बस्नु पर्ने उहाँको भनाई छ ।
तिवारीका अनुसार राप्ती नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाईरस देखिएको थियो । सुरुमा आमामा ¥यापिड डाईग्नोष्टिक टेष्टमा शंकास्पद देखिए पछि आमा र दुई छोराको पिसिआर परिक्षण गरिएको थियो । भरतपुर कोडिभ १९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिए पछि उनीहरुलाई भरतपुर अस्पतालको आईसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।
परिक्षण अघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिए पछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्ष्यण नदेखिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिन पछि पुनः आमाको स्वाब परिक्षण गरिने छ । शरिरबाट भाईरस मुक्त भए पनि केही समय सम्म एन्टीवडि रहने भएकाले नेगेटिभ देखिए पछि पनि कम्तिमा एक साता क्वारेन्टाईनमा राख्नुपर्ने चिकित्सकको भनाई छ ।
चैत ३ गते बेलायतबाट यी आमा छोरा हङ्कङ हुँदै नेपाल आएका हुन । दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरु संग निकट भएका एम्बुलेन्स चालक देखि अन्य व्यक्तिहरुलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाईनमा राखिएको छ । ¥यापिड डाईग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाले स्थापना गरि भरतपुर अस्पताललेनै संञ्चालन गरेको भरतपुर कोरोना बिषेश (अस्थाई)अस्पताललाई तोकीएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका संक्रमितलाई उच्च साबधानीका साथ राखिएकाले अन्य सेवा सुचारु भएको छ ।