काठमाडौंः अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संवादमा जुटेका छन् ।
प्रधानमन्त्रीले ३ बजे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बालुवाटार डाकेका थिए । उनीहरूबीच झन्डै १ घण्टा समसामयिक राजनीतिक र मुलुकको अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
“विपक्षी दलका नेतासँग झण्डै एकघण्टा वार्ता भयो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको हो,” थापाले बाह्रखरीसँग भने ।
देउवासँगको वार्तालाप नसकिँदै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बालुवाटार डाकेका थिए । अहिले ओली, देउवा र दाहालबीच घनिभूत छलफल भइरहेको छ ।
छलफल नगरी अध्यादेश ल्याएको र फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको आलोचना बेहोरिरहेका प्रधानमन्त्रीले सबैलाई संवादमा जोडेका छन् । संवादकै सिलसिलामा प्रधानमन्त्रीले दुई पूर्वप्रधानमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले चाल्नुपर्ने थप कदमबारे पनि राय मागेको बुझिएको छ ।