काठमाडौंः नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा मुलुक रहेको बताउनुभएको छ ।
सरकारले शुक्रबार गत सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उनले ट्विट गरेर सांसद ‘अपहरण’ मा संलग्न नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि कारबाहीको प्रतीक्षा भइरहेको बताउनुभयो ।
“अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश,” प्रवक्ता शर्माले लेख्नुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सम्पूर्ण ध्यान र शक्ति कोराना भाइरसविरुद्धको संघर्षमा केन्द्रित गर्न पनि आग्रह गनुभएको छ । नागरिकको जीवन जोगाएपछि फुर्सदमा राजनीतिक विवाद गर्न सकिने शर्माको भनाइ छ ।
शर्माले लेख्नुभएको छ “अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश जनताका तर्फबाट आग्रह छ अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनीतिक विवाद गरौंला ।”