विराटनगरः कोरोना भाईरसको संक्रमण वढ्दै गएको समयमा नेपाली कांग्रेस मोरङले कोरोना जोखिम क्षेत्र छुट्याउन माग गरेको छ । जोखिम कम भएका क्षेत्रमा उद्योग संचालन गर्ने सहज वातावरण बनाउनु पर्ने भन्दै काँग्रेसले जोखिम क्षेत्र छुट््याउन माग गरेको हो ।
लामो लकडाउनका कारण सुनसरी–मोरङ करिडोरका उद्योगधन्दा बन्द हुँदा त्यसले स्थानीय रुपमा पनि आर्थिक अवस्था जर्जर हुने र श्रमिकलाई जीवनयापनमै कठिन हुने भन्दै यस्तो माग गरेको हो ।
मोरङ कांग्रेसका विराटनगरमा उपलब्ध पदाधिकारी तथा सदस्यहरू सम्मिलित बैठकले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको जिल्ला सभापति डिकबहादुर लिम्बूले जानकारी दिनुभयो । उहाँले भँन्नुभयो “अधिक जोखिम, मध्यम जोखिम र कम जोखिम भएका क्षेत्र छुट्याएर सरकारले औद्योगिक र आर्थिक गतिविधि गर्न सहज गर्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौं । यस विषयमा प्रदेश सरकारको पनि ध्यानाकर्षण गर्दैछौं ।” सभापति लिम्बूले लामो लकडाउनका कारण गरिखाने वर्गको जीवनयापनमै समस्या हुन थालेको आफूहरूले समेत महसुस गरेको सुनाउनुभयो ।
मोरङ कांग्रेसले उद्योग र व्यापारमा परेको प्रभावको विषयमा बुधबार विराटनगरमा सामाजिक दूरी कायम राख्दै मोरङ व्यापार संघमा छलफल चलाएको थियो । अब दोस्रो चरणमा उद्योगमा काम गर्ने श्रमिकहरूसंग छलफल गरिने सभापति लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो “उद्योग सञ्चालकले नो वर्क नो पेको अवधारणा अघि सार्दै पारिश्रमिक दिन नसक्ने जनाउ दिइसकेकाले यसबारे श्रमिकको अवस्था र धारणा के छ भन्ने बुझ्न लागेका हौं ।” लिम्बूले आर्थिक र कृषि क्षेत्रमा सुरक्षित र सहज गतिविधिको पक्षमा कांग्रेस रहेको उहाँको भनाई छ ।