
चितवनः जिल्लामा रहेका सम्पूर्ण बिद्यालयहरुले सिकाईको कामलाई निरन्तरता दिने भएका छन् । शिक्षा बिकास तथा समन्वय ईकाई चितवनमा बसेको नगर शिक्षा अधिकारीहरुको बैठकले लामो समय सम्म बिद्यालय बन्द हुँदा बिद्यार्थीहरुमा नकारात्मक असर पर्ने भन्दै सिकाईको कामलाई निरन्तरता दिने निर्णय भएको हो ।
ईकाईका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा रहेका ५ सय १९ वटा बिद्यालयका बिद्यार्थीहरुलाई अध्ययन गर्ने बानि नहटोस भनेर सिकाईको कामलाई निरन्तरता दिन लागिएको हो । सदरमुकाममा रहेका र ईन्टरनेटको पहुँचमा रहेका बिद्यार्थीहरुलाई अनलाईन कक्षा संञ्चालन गर्ने र ईन्टरनेटको पहुँचमा नरहेका बिद्यार्थीहरुलाई तोकीएको स्थानमा सामाजिक दुरी कायम गरि पठनपाठन गराउने वा संञ्चार माध्यमको सहायताले सिकाईको काम गर्न लागिएको हो ।
बिद्यार्थीहरुको सिकाईलाई ध्यानमा राख्दै जिल्लाका सबै बिद्यालयहरुले बैशाख १७ गते सम्म नतिजा सार्बजनीक गरेर सिकाईको काममा लाग्ने गरि निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै लकडाउन गरे संगै बिद्यार्थीहरु घरमा बसेर अभिभावकको कुरा नमान्ने भएका कारण सिकाईका लागि बिभिन्न बिधिबाट कक्षा संञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश शिक्षा निर्देशनालयबाट समेत बिद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन निर्देशन भए अनुसार सिकाईको काम संञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा ३ सय ४८ सामुदायीक र १ सय ७१ संस्थागत बिद्यालयहरु रहेका छन् । ती बिद्यालयमा २ लाख ७५ हजार ७९ बिद्यार्थी अध्ययन गर्दछन् ।
ती सबै बिद्यालयहरुले कुनै न कुनै माध्यमबाट बिद्यार्थीहरुलाई सिकाईको काम गर्ने उहाँले जानकारी दिनुभयो ।