चितवनः भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पिसिआर परिक्षण गर्ने रिएजेन्ट सकिए पछि आजबाट काम रोकीएको छ । यहाँ दैनिक ३५ देखि ४० जना सम्मको पिसिआर परिक्षण हुदै आएको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार गत एक साता अघि देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु संग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भए पनि प्राप्त हुन नसके पछि आजबाट काम रोकीएको हो । उहाँका अनुसार रिएजेन्ट माग गरेर तीनवटा पत्र पठाई सकीएको छ । हेटौडा स्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउनका लागि कर्मचारी पठाईएकोमा त्यहाँ पनि आईतबार बाँकी रहेका नमुनालाई पुग्ने गरि मात्र ल्याईएको तिवारीले जानकारी दिनु भयो । नमुना संकलन गरिएका तर परिक्षण हुन बाँकी आठ वटा नमुनाका लागि मात्र हेटौडाबाट रिएजेन्ट ल्याईएको उहाँले बताउनुभयो ।
परिक्षणका लागि आज भरतपुर कोरोना अस्थाई अस्पतालमा मात्र २० जनाको नमुना संकलन गरि सकिएको छ । रिएजेन्ट उपलव्ध नभए पछि अन्य अस्पतालहरुबाट नमुना संकलन नगरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । आज संकलन गरिएका र भोलि थप हुने नमुना परिक्षणका लागि काठमाडौं पठाईने छ ।
तर रिएजेन्ट नभएकाले परिक्षण हुन सक्ने अबस्था छैन । नमुना संकलन गरिएकाहरुलाई नतिजा नआए सम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ । ¥यापिड डाईग्नोष्टिक टेष्ट भईरहेको छ । त्यसमा पोजेटिभ आउनेहरुलाई पनि पिसिआर गर्ने गरिएको छ ।
चैत २१ गतेबाट सुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४ सय नमुना परिक्षण गर्ने गरि रिएजेन्ट पठाएको थियो । आईतबार सबै सकीएको तिवारीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताउनुभयो । थप आउनका लागि १÷२ दिन लाग्ने उहाँको भनाई छ । यस अघि प्रदेश र जिल्ला अस्पतालमा पठाईएको रिएजेन्ट धेरै बाँकी रहेको ठाउँबाट ल्याउने प्रयास भईरहेको छ । जहाँ बाँकी छ त्यहीबाट ल्याएर अहिले नभएको ठाउँमा काम चलाउनुको बिकल्प नरहेको उहाँको भनाई छ । चितवनलाई हेटौडाबाट ल्याएर काम चलाउन भनिएको उहाँले जानकारी दिनुभयो । हेटौडामा पनि कम भए अन्य जिल्लामा खोजि गरिने उहाँले बताउनुभयो ।
जिल्लामा दुई जना कोरोना पोजेटिभ देखिई सकेको छ । बाहिरबाट आएकाहरु झण्डै ७ सय रहेका छन् । यसैगरि ¥यापिड डाग्नोष्टिक टेष्ट पनि तिव्र गतिमा भईरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हाल सम्म ६ सय भन्दा वढिको परिक्षण भईसकेको बताउनुभयो । त्यस मध्ये तीन जनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पिसिआर परिक्षणमा पनि पोटेटिभ देखिएको छ । एक जनाको नेगेटिभ देखिएको छ भने अर्का एक जनाको नतिजा आउन बाँकी रहेको छ ।