चितवनः शनिवार साँझ आएको हाबाहुरी र असिनाले पूर्वी चितवनमा नगदे वालीमा पारेको असरको तत्काल लगत संकलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कृषि जन्य उत्पादनका कृयाकलापहरुलाई संञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतीको लगत संकलन गर्ने निर्णय गरिएको हो ।
कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षती पुगेको छ । क्षतीको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना र स्थानीय तहहरुसंग समन्वय गरेर बिबरण लिई जिल्ला बिपद व्यवस्थापन समिति मार्फत सम्बन्धित निकायमा पठाईने भएको छ । अन्तरक्रियामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्बी चितवनका कृषकले ठूलो नोक्सान बेहोर्नु परेको भन्दै राहतका लागि आबश्यक पहल आजैबाट थाल्नुपर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्रको सिफारीसमा साल्ट ट्रेडीङ्ग र कृषि सामाग्री संस्थानले मल बिउ बितरण गर्न आग्रह गर्दै अहिलेका बालीहरुलाई आबश्यक पर्ने मल बिउ व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । सो अबसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मल, बिउ, औजार र कृषि जन्य उत्पादनको ढुवानीमा रोक नलगाईएको तर भिडभाड गर्न नहुने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारीसमा कृषि जन्य उत्पादन र वजारीकरणमा सहजिकरण गर्न प्रशासन सकारात्मक रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीना, साल्ट ट्रेडिङ्ग लिमिटेडका चितवन प्रमुख बुद्धि बिनोद दाहाल र कृषि सामाग्री केन्द्र चितवनका प्रमुख रबिन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल बिउको अहिलेको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !