काठमाडौंः नेपाल आयल निगमले अनुमतिपत्र लिने तर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । २०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि वैशाख ७ गतेदेखि खारेजीमा परेका हुन् ।
यी कम्पनीहरुले निगमबाट ग्यास उद्योग निर्माण गरि सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण गरेका थिएनन् ।
यसैगरी अर्काथरीले उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा उनीहरु सम्पर्कमा नआएको निगमले जनाएको छ ।
यसरी लाइसेन्स लिने तर उद्योग स्थापना नगर्दा अनुमतिपत्र किनबेचजस्ता काम हुने गरेको थियो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भन्नुभयो, “त्यसो गर्नाले हामीलाई एलपी ग्यास उद्योगको व्यवस्थापनमा समस्या आएको थियो ।”
यसरी लाइसेन्स झोलामा बोकेर हिँड्ने तर ग्यास उत्पादन नगर्ने गर्दा निगमलाई अनुमान लगाउन मुस्किल भएको उहाँको दाबी छ । पौडेलले भन्नुभयो “पेट्रोलियम क्षेत्रमा पनि अन्य क्षेत्रमा झैं झोलामा लाइसेन्स बोकेर हिँड्ने धेरै छन् । ती मध्ये ग्यास उद्योगीको लाइसेन्स खारेज गरेका छौं ।”
निगमका अनुसार २०७१ माघ १४ पश्चात निगमबाट स्वीकृति प्रदान गरिएका नयाँ उद्योगहरु, शाखा उद्योगहरु र उद्योग विभागबाट उद्योग सञ्चालन सम्बन्धी राय र प्रतिक्रिया माग गर्दा तोकेको समय सिमाभित्र पीडीओ प्राप्तिका लागि नआएकोले उनीहरुलाई खारेजी गरिएको हो ।