
जनकपुरः उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई सिल गरिएको छ ।
शुक्रबार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिबार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । संक्रमित १२ जनालाई तीनवटा एम्बुलेन्समा र अन्य चार जनालाई अर्कै एम्बुलेन्समा राखेर भुल्केबाट राति विराटनगर पठाइएको एसपी बुढामगरले जानकारी दिनुभयो ।
संक्रमितहरू सबै तबलिकी जमातिहरू रहेको भन्दै त्रियुगा नगरपालिकाको मुस्लिम समुदायको बाक्लो बस्तीहरूमा पनि तिनीहरूको पहुँच भएको हुनसक्ने आशंकामा निगरानीमा राखिएको छ । त्रियुगाको वडा नम्बर २, ३, ५, ६ र १२ मा मुस्लिम समुदायको उपस्थिति बाक्लो रहेको स्थानीय सञ्चारकर्मी राहुल यादवले बताउनुभयो ।