काठमाडौंः प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म पुर्‍याइदिने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिनुभएको हो ।
घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै नागरिकलाई प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिन आग्रह गरेको र खाने बस्नेको व्यवस्था गरिएको उहाँले बताउनुभयो । लकडाउनको पूर्ण पालना गर्नु हामी सबैका लागि जरुरी रहेको उहाँको भनाई छ ।

प्रदेश सकारले शुक्रबारदेखिनै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । सुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !