चितवनः भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले शिरानीमा संविधानलाई राखेर काम गर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ निवासी ज्ञवालीले ऐन नियम काँधमा बोकेर आफूले काम गर्ने बताउनुभयो ।
उहाँले गरिब, भूमिहिन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताउनुभयो । उहाँले भन्नुभयो “भूमिहिन जनताको सर्वपरी हितलाई ध्यानमा राखी काम गर्नेछु ।”
संविधानले दलित, उत्पीडित, भूमिहिन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान पदत्त अधिकार उपयोग गर्न कोही बन्चिन नरहने बताउनुभयो ।
भरतपुर महानगरपालिकाको प्रमुख पदमा तत्कालिन नेकपा (एमाले) बाट उम्मेदवार बन्नु भएका ज्ञवाली झिनो मतअन्तरले तत्कालिन नेकपा (माओवादी) का रेनु दाहालसँग पराजित हुनु भएको थियो । ज्ञवालीसँग तत्कालिन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ज्ञवालीलाई मंगलबारको मन्त्रीपरिषद् बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस !