चितवन: हरेक साता ४२ लाख जीउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो ह्याचरी व्यवसायीले गरिरहेका छन् । गोदाममा अण्डा थुप्रिएको छ । हुर्कीएका ब्रोईलर कुखुरा खान नपाएर खोरमानै मर्न थालेका छन ।

दुईसाताको लकडाउनले मात्र नभएर बिगत दुई वर्ष यता कुखुरापालन व्यवसायमा देखिएको उतारचढाबका कारण धेरै कृषक बिस्थापित भैसकेका छन् । बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

कुखुरापालक कृषक एबं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्र्रेल लकडाउन सुरु भएपछि दैनिक रु २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भईरहेको बताउनुहुन्छ । पोख्रेलको भनाईमा चल्लामा रु ३ करोड ४५ लाख ७० हजार, ब्रोईलर तयारी कुखुरामा रु १५ करोड, अण्डामा रु ३ करोड ४५ लाख ९० हजार र अन्यमा रु ५० लाख दैनिक नोक्सान व्यहोर्नु परेको छ ।

पोख्रेल व्यवसायी टिक्नै मुस्कील हुने अबस्थामा पुगेको बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका पोखे्रलका अनुसार देशभरमा ८ वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य रु ९० पर्दछ । हाल ती खोरहरुमा १ लाख माउ छन् । ती माउ अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याईएका हुन । तीनिहरुलाई प्र्रतिगोटा रु १ हजार पर्ने पोख्रेलले बताउनुभयो ।

ब्रोईलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उहाँको भनाई छ । नेपाल संगै थाईल्याण्ड, मलेसीया, फिलीपीन्स, अमेरीका, वेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा रु ६ सय ५० पर्दछ । ब्रोईलर चल्लाको लागत मूल्य रु ५७.४५ पैसा पर्ने पोख्रेल बताउनुहुन्छ ।

उहाँका अनुसार कोईलर र कलर ब्र्रोईलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोईलर र कोईलर भारत र यूरोपबाट ल्याईएका हुन । कलर ब्रोईलरको माउ (प्यारेन्ट) रु १ हजार र कोईलर रु ३ सय मा ल्याईएका हुन । तीनीहरुको लागत मूल्य रु ४० पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् ।

नेपालमा माउ (प्यारेन्ट) उत्पादन गर्ने ग्रयाण्ड प्यारेन्ट ह्याचरी २ वटा रहेका छन् । ती ह्याचरीले मासिक ७० हजार प्यारेन्ट उत्पादन गर्दछन् । पोख्रेलको भनाईमा ती ह्याचरी बाहेकका सबै ह्याचरीको चल्ला पूर्नुपर्ने बाध्यता रहेको छ ।

गत वर्ष फागुन यता चल्लाको मूल्य आउन नसक्दा निकै नोक्सान बेहोर्नु परेको उहाँको भनाई छ । चल्लाको मुल्य नपाए पछि व्यवसायीहरुले १० दिन चल्ला उत्पादन वन्द समेत गरेका थिए । नेपालमा सातामा ४ लाख चल्ला उत्पादन गर्ने अबिनास ह्याचरी पनि छ । जसको ह्याचरीमा मात्र रु ६ अर्ब भन्दा बढी लगानी भएको जनाउदै आएको छ । गएको एक वर्षमा ह्याचरी क्षेत्रमा मात्रै रु ३ अर्ब ६५ करोड भन्दा वढि नोक्सान भएको दाबी पोख्र्रेलको छ ।

नेपालमा कुखुरापान क्षेत्रमा १सय २० अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्र्रीय अध्यक्ष शिबराम केसीले कृषक टिक्ने अबस्था घट्दै गएको बताउनुभयो । धेरै कृषक यस अघिनै बिस्थापित भैसकेको उहाँले वताउनुभयो । अण्डा उत्पादन गर्ने कृषकले बिगत २ वर्ष यता निरन्तर घाटा व्यहोर्नु परेको छ । केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा रु ७ मा बिक्रि भएको छ । लागत मूल्य मात्रै प्रतिगोटा रु ११. ५० पैसा भन्दा वढि पर्दछ । एउटै अण्डामा रु ४.५० पैसा नोक्सान छ । केही अण्डा बिक्रि भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकाले अण्डा नष्ट गर्नुको बिकल्प नभएको उहाँको भनाई छ ।

देशभरमा २ हजार २ सय भन्दा बढि कृषक प्र्रत्यक्ष रुपमा यस पेशामा संलङ्न छन् । जसले १ लाख हाराहारीलाई रोजगारी दिएको केसीको भनाई छ । संघका निवर्तमान अध्यक्ष त्रिलोचन कंडेल अण्डा गोदाममा थन्किएको र खुखुरालाई दाना खुवाउन कच्चा पदार्थ किन्ने पैसाको अभाव भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो “हामी त पालिन्छौनै कुखुरा कसरी पाल्ने ।” सबै किसानका सामु चिन्ता भएको उहाँ बताउनुहुन्छ ।

अहिले पेटभरी खान नपाएका कुखुराले पछि पनि राम्रो उत्पादन दिन नसक्ने कंडेलको भनाई छ । १८ देखि १९ हप्ताका लेयर्स कुखुराले अण्डा दिन थाल्दछन् । ती कुखुराबाट राम्रो व्यवस्थापन भएमा ८२ हप्ता सम्म अण्डा लिन सकीन्छ । कंडेल अहिले लकडाउन मात्र भन्दा पनि पहिले देखिको समस्याले गर्दा टिक्न कठिन भएको बताउनुहुन्छ । लेर्यसमा मात्र रु २० अर्ब भन्दा बढि लगानी भएको उहाँको भनाई छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द बिष्ट सरकारले तत्काल सम्बोधन गर्न नसके नेपालको आत्मनिर्भर यो व्यवसाय बिस्थापित हुने चिन्ता व्यक्त गनुहुन्छ । यत्तीकै धान्न सक्ने कोही नभएको भन्दै उहाँले सरकारले तत्काल अनुदान दिन सक्नुपर्ने बताउनुभयो ।

बैंक ऋणको व्याज एक वर्ष मिनाहा गर्नुपर्ने, ऋणको तिर्नुपर्ने सावा एक वर्ष सार्नुपर्ने, चालु पूजी वराबर पुनरकर्जा दिनुपर्ने उहाँ बताउनुहुन्छ । साना लेयर्स तथा ब्रोईलर किसानका लागि स्थलगत अनुगमन गरि बिस्थापित हुन नदिन कुखुरा गोटाको आधारमा नगद सहयोग गर्नुपर्ने र दानाको कच्चा पदार्थ मकै तथा भटमासको पिनामा भन्सारमा लग्दै आएको कृषि सुधार शुल्क हटाउनुपर्ने व्यवसायीको माग छ ।

यो लकडाउन कति जान्छ भन्न नसकिने भन्दै बिष्टले यत्तिकै अबस्थामा सहयोग नपाएमा ८० प्रतिशत कृषक बिस्थापित हुने बताउनु भयो । त्यस अबस्थामा बाहिरका उत्पादन छिरेमा नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्ने बिष्टको भनाई छ । अन्य पेशा जस्तो यो पेशा नभएकाले यसको मर्मलाई तत्काल बुझिदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आएको उहाँले बताउनुभयो ।

नेपाल दाना उद्योग संघका पूर्ब केन्द्रीय अध्यक्ष डा. तिलचन्द भट्टराई कुखुराले खान पाउन छाडने स्थिती आएको बताउनुहुन्छ । अण्डा थन्किएर वसेको, ब्रोईलर कुखुरा नबीकेको र चल्ला मार्नुपर्ने बाध्यतामा रहेको उहाँको भनाई छ । नगदमा दानाको कच्चा पदार्थ किनेर उद्यारोमा कति दिन बिक्रि गर्न सक्ने उहाँले गुनासो गर्नुभयो ।

कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमीका खेलेको उहाँको भनाई छ ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनुभएका भट्टराईका अनुसार पछिल्ला वर्षहरुमा चितवन भन्दा बाहीर ठूला फार्म सुरु भएका छन् । कुल उत्पादनको ३० प्र्रतिशत हाराहारी चितवनले ओगटेको उहाँको भनाई छ ।

नेपालमा कुखुराको दानाका लागि आबश्यक पर्ने धेरै कच्चा पदार्थ बाहीरबाट आउने गर्दछ । समग्रमा ६५ प्रतिशत बाहीरबाट आउने भट्टराईको भनाई छ । मकै ७० प्रतिशत, भटमासको दाना र पिना ९५ प्रतिशत, औषधि ८० प्रतिशत र सूर्यमुखी पिना ४० प्रतिशत बाहीरबाट आउँछ । ढुटो नेपालकैले पुग्ने गरेको छ ।

भट्टराइृको भनाइृमा गत साल कच्चा पदार्थमा रु ४० अर्ब खर्च भएको थियो । कुखुरा जन्य पदार्थ रु १ खर्ब ६ अर्व भन्दा वढिको बिक्रि भएको तथ्याङ्क छ । यो उत्पादन स्थलकै मूल्य हो । उहाँका अनुसार १ दिने चल्ला रु ७ अर्ब ५८ करोड, दाना रु ४५ अर्ब ७९ करोड, अण्डा रु १७ अर्व ९३ करोड , मासु रु ३४ अर्ब ९७ करोड र मल रु ५० कोडको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !