
चितवनः चितवनमा स्थापित कोरोना भाईरस कोभिड–१९ को नमुना परीक्षण प्रयोगशालामा १७ जनाको नमुना परिक्षणको काम भईरहेको छ । भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालका सुचना अधिकारी सुर्य तिवारीका अनुसार अस्थाई अस्पतालमा आएका १६ जना र गुञ्जमान अस्पतालका १ जनाको नमुना परिक्षणको काम भईरहेको छ ।
ल्याब परिक्षणको काम आईतबारबाट सुरु गरिएको हो । आईतबार एउटा नमुना परिक्षणको गरिएको थियो । परिक्षणको अवधि अत्यन्तै संवेदनशिल हुने भएकाले काम सकिएपछि मात्रै प्राविधिकहरुसंग थप जानकारी लिईने उहाँले जानकारी दिनुभयो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वमा परिक्षणको काम जारी रहेको हो ।
भरतपुरको बाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ । प्रारम्भिक चरणमा एक पटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने लक्ष्य प्रयोगशालाले लिएको छ । ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट (जैविक सुरक्षा)को प्रवन्ध मिलाईएको छ । प्रयोगशालामा २० जनाको प्राविधिक टोलि खटिएको छ ।