सनद अधिकारी/चितवनः गैंडा गणनाको सम्पूर्ण तयारी पुरा गरेर गणना गर्नै लाग्दा रोकीएको कार्य यस वर्ष नहुने देखिएको छ । मौषम प्रतिकुल हुने भएकाले मुलुक बन्द खुलेर तयारी गरि गैंडा गणनाको सम्भावना टरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक रामचन्द्र कंडेलका अनुसार गैंडा गण्नाका लागि चैत महिना उपयुक्त महिना हो । फागुन चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैन । बैशाख गर्मी र डढेलोहरुका कारण जोखिम हुने उहाँले जानकारी दिनुभयो ।
यस अघिको गणना बैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको भन्दै उहाँले यस वर्षको गणनाको सम्भावना टरेको बताउनुभयो । चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाईरसको नियन्त्रणका लागि मुलुक बन्द भए पछि स्थगित गरिएको थियो । सुरुमा चैत १ गतेबाट गणना गरिने भनिएको भए पनि मौषमका कारण पछाडी सारिएको थियो ।
कंडेलका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा रहेका छन् । ती सबै निकुञ्जमा गणना गरिने कार्यक्रम रहेको थियो । चितवनमा गैंडा गणना गर्न एक महिना लाग्दछ भने अन्य निकुञ्जमा एक साता देखि १० दिन सम्म लाग्दछ ।
विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागेको थियो । गैँडा गणनाका लागि विभागले रु १ करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । गत वर्ष गैंडा गणना गर्न चाहेर पनि बजेटको अभावमा रोकीएको थियो । दाताको भर पर्नुपर्दा गणनानै रोकीए पछि बिभागले यस वर्ष आँफैले बजेट बिनियोजन गरेको थियो ।
कडेंलले सबै तयारी पुरा भएपछि रोकीएको भन्दै अवको प्रतिकुल मौषममा काम गर्न नसकीने बताउनुभयो । गर्मी बढे संगै हात्ती बिच्किएर भाग्ने भएकाले काम गर्न खतरा हुने उहाँको भनाई छ । यो मौषममा डढेलो संगै रोग व्याधि र चर्को गर्मीले कर्मचारीहरुलाई काम गर्न पनि कठिनाई हुने जनाईएको छ ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक ५÷५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ ।
सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैँडाको संख्या नगन्य छ । प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम बढ्दै गइरहेको छ । गणना नहुने भए पछि मुलुक बन्द खुले संगै सबै निकुञ्जमा गैंडाको परिचय राख्ने गरि काम गरिदै छ । प्रत्यक्ष रुपमा गैंडाको अबलोकन गरि उचाई, लम्बाई, कान, पुछर के कस्तो छ जानकारी लिने काम गरिने उहाँले जानकारी दिनुभयो । गैंडाको नामाकरण समेत गरिने छ ।
चितवन बाहेकका निकुञ्जमा गैंडाको तथ्याङ्क समेत एकिन रुपमा आउने भए पनि धेरै गैंडा भएको ठाउँमा भने यसबाट एकिन जानकारी लिन कठिन हुने उहाँको भनाई छ । यसले गैंडाको बाहिर हेरेर थाहा हुने स्वस्थ्य अबस्था, घाउ चोट आदि समेत पत्तालाग्ने गर्दछ ।