चितवनः भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतिको स्वाब परिक्षण गरिने भएको छ । परिक्षणको नतिजा नआए सम्म मृत शरिरलाई छुट्टै सुरक्षित राखिएको छ । परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौं पठाउनु पर्ने हुन्छ ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार बिहिबार राती सिन्धुली घर भएकी २६ वर्षिया उषा कुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । राती १२ बजे अस्पताल ल्याईएको राईको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ वजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलङ्न चिकित्सक र स्वास्थ्य कर्मीलाई क्वारेन्टाईनमा राखिने बताउनुभयो ।
युवतिको मृत्युको कारण नतिजा आए पछि थाहा हुने भएकाले उच्च साबधानी अपनाईएको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरस (कोभिड १९)को त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा बिशेष सतर्कता अपनाईएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार सिन्धुलीको हरीहरपुर गाउँपालिका वडा नम्बर २ की राईलाई हेटौडा अस्पतालले राती थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।
अस्पतालमा हरेक महिना बिभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । यध्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परिक्षण गर्न थालिएको हो ।