
चितवनः पर्यटकीय गतिबिधि बन्द संगै सौराहाका व्यवसायीले हात्ती पाल्न कठिन भएको जनाएका छन् । मुलुक बन्द संगै बाधेर हात्ती पाल्नुपर्ने भएको छ । सौराहामा ६० वटा नीजि हात्ती रहेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई पहिले हात्ती सफारीमा जाँदा हरीयो घाँस खाने गरेको भए पनि अहिले पराल र धानमा निर्भर हुनु परेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “हात्तीका लागि सञ्चय गरेको खाध्यान्न सकिन लाग्यो कसरी बचाउँने चिन्ता हुन थाल्यो ।” हात्ती सफारी जाँदा चर्ने र घाँस समेत काट्ने व्यवस्था थियो भने अहिले हात्ती बाँधेर राखिएको छ । घाँस काट्ने अबस्था छैन । सामुदायीक वनहरुमा अहिले घाँस काट्न जान रोकीएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पालिएका एउटा हात्तीलाई दैनिक न्यूनतम ३ सय ५० किलो घाँस, १० किलो धान र २५ ग्राम बिरेनुन दिने गरिएको छ । नीजि हात्तीहरुलाई त्यसकै तलमाथि दिने गरिन्छ । एउटा हात्ती हेर्नका लागि तीन जना कर्मचारी आबश्यक पर्दछ । उनीहरुको तलब भत्ता र पालन पोषण सामान्य भए पनि हात्ती पाल्न भने निकै कठिन भईरहेको भट्टराईले जानकारी दिनुभयो । समस्याको बिषयमा चितवन राष्ट्रिय निकुञ्ज संग औपचारीक रुपमा अनुरोध गर्ने तयारी भईरहेको उहाँको भनाई छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे हात्तीको आहाराको सन्तुलन नमिलेमा पछि सम्म समस्या पर्न सक्ने बताउनुहुन्छ । एकातर्फ खाध्यान्नको अभाब हुँदै गएको छ भने अर्को तर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिडाउनु, डुलाउनु र चराउँदा राम्रो हुने उहाँको भनाई छ । निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाईदिएमा हात्ती जोगाउन सकिने घिमिरेले बताउनुभयो । अहिले हात्तीमा देखिएको भोकमरीको समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले कुनै निश्चित क्षेत्रमा हात्ती चराउन दिनुपर्ने माग व्यवसायीले गरेका छन् । एउटा हात्ती किन्न रु ८० लाख हाराहारी लाग्ने गर्दछ । जसले ६० वर्ष सम्म सेवा दिन्छ । त्यसका लागि पालन पोषणको राम्रो प्रबन्ध मिलाउनु पर्ने हुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती नीजि हात्तीलाई समस्या परेको बारेमा आँफुलाई व्यवसायीहरुले जानकारी नगराएको बताउनुहुन्छ । अहिले घाँस नभए पछि निकुञ्जका हात्तीलाई पनि पराल किनेर खुवाएको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा ६४ वटा हात्ती रहेका छन् । ती हात्तीको रेखदेख गर्न १ सय २३ जना कर्मचारी छन् । पानी परे पछि घाँस पलाउने भन्दै निकुञ्जमानै घाँसको अभाव भएको रुपाखेतीको भनाई छ । हात्ती पाल्ने व्यवसायीहरुले मानीसको भन्दा हात्तीको वढि चिन्ता हुन थालेको जनाएका छन् । व्यवसायीहरुले निकुञ्ज भित्र हात्ती सफारी गर्न दिनुपर्ने माग गर्दै आएको भए पनि अनुमति पाउन सकेका छैनन् ।
चितवन घुम्न आउने पर्यटकलाई घुमाउन नीजि हात्ती मात्र प्रयोग गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जलाई कर तिरेर सामुदायीक बनहरुमा हात्ती सफारी गराईदै आएको छ । सौराहामा रहेका नीजि हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ ।
सौराहाका निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । बि. सं. २०७५ असोज २९ गते निकुञ्जको नियमावली संसोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको हो । बाहिरका हात्तीभित्र जाँदा रोग सार्न सक्ने खतरा देखिएकाले रोकिएको भनाई निकुञ्जको छ । व्यवसायीहरुले नीजि हात्ती निकुञ्ज छिर्न पाउनुपर्ने माग गर्दै आएका छन् । हात्ती पाल्न कठिन हुने र पशु अधिकार कर्मीहरुले हात्तीमाथि मान्छे चढाउन नहुने भन्दै बिरोध गरे पछि व्यवसायीहरु नयाँ मनस्थितिका साथ अघि वढेका छन् ।
उनीहरुले हात्ती पार्क निर्माण गरी पर्यटकहरुलाई हात्तीका बिभिन्न गतिबिधि हेर्ने व्यवस्था मिलाउने र सफारी वन्द गर्ने बिषयमा बहस अघि वढाएका छन् ।