
चितवनः भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा उपचाररत एक जना बिरामीको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जको जगन्नाथपुरका ३० वर्षिय सन्तोष यादव रहेका छन् ।
अस्पतालले आज जारी गरेको बिज्ञप्तिमा ती बिरामी चैत्र ९ गते लुपस भन्ने रोगले मृगौला समेत कम्जोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्यण भई यस अस्पतालमा आएको उल्लेख छ ।
चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा यस अस्पतालमा रिफर गरिएको थियो । ती बिरामीको चैत १० गते स्वाबको नमुना झिकी परीक्षणका लागि काठमाडौं पठाईएकोमा हालसम्म नतिजा आई नसकेको बिज्ञप्तिमा जनाईएको छ ।
अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार सोमबार निजको स्वासप्रस्वासमा समस्या आए पछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । आज बिहान ९ः३० बजे निजको मृत्यु भएको अधिकारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
सो अस्पतालमा उपचाररत यादब सहित भरतपुर अस्पतालमा उपचाररत आठ जनाको नमुना परीक्षणका लागि पठाईएकोमा हालसम्म नतिजा नआएको हो । मृत शरीरलाई नतिजा नआउन्जेल सम्मका लागि अस्पतालले सुरक्षित साथ राखेको छ ।