चितवनः कोरोना भाइरस (कोभिड १९)का कारण अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरिएको छ । कोरोनाबाट सुरक्षित रहन भन्दै धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरिएको जनाएको हो ।
फाउण्डेसनले एक विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेल सम्मलाई काम स्थगित गरिएको जानकारी गराएको हो । फाउण्डेसनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रंगशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशन बमोजिम २५ जना भन्दा बढि भेला हुन नपाइने भएकोले निर्माणको कामलाई तत्कालका लागि स्थगित गरिएको उल्लेख छ ।
विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनाहरु समेत प्रभावित भइरहेकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अछुतो नरहेको फाउण्डेसनको विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा भनिएको छ, “यद्यपि कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदार बाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाएका थियौं । कार्य स्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौं । तर, कोरोना संक्रमण प्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौं ।”
रंगशाला निर्माणको काम अझै तीव्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जना बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकोले रंगशालामा कामदार मात्रै २ सय ५० जना भन्दा बढी भएकोले पनि काम स्थगित गरिएको फाउण्डेसनले जनाएको छ ।
जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो । विस्तृत गुरुयोजना तयार हुनु अगावै फाउण्डेसनले प्रारम्भिक चरणका काम (कम्पाउण्डिङ, साइट क्लीरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिर अगाडि नै सम्पन्न गरिसकेको थियो । विस्तृत गुरुयोजना (डीपीआर) तयार भई गएको मंसिर १ गतेदेखि उक्त गुरुयोजना अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरि चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !