
चितवनः दश वर्षको अष्ट्रेलिया बसाई पछि स्वदेश फर्किएर एक दम्पतीले त्यहाँ सिकेको सिपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० बाईपास रोडको भरतपुर आँखा अस्पतालको आडैमा उनीहरुले ग्लोबल कफि हाउस संञ्चालनमा ल्याएका हुन् ।
श्रीमान प्रदिपको सहयोगमा आश्मा तिमिल्सीनाले कफि सप संञ्चालन गर्नुभएको छ । कफि सपमा ग्राहकलाई अन्तराष्ट्रिय स्वादको कफि संगै शिप सिक्न चाहनेहरुका लागि यो दम्पतीले तालिम पनि दिदै आएको छ । सन् २००८ मा अष्ट्रेलियाको मेलबन पुगेको यो दम्पती त्यहाँको पाँच बर्ष बसाई पछि सिड्नी पुग्यो ।
पढाई सकेर स्थाई बसोवासका लागि अष्ट्रेलिया सरकारको ईजाजत पाउनै लाग्दा सिड्नीको पाँच वर्षे बसाई सकेर शिप संगै नेपाल फर्कियो । अष्ट्रेलियामानै हस्पिटालिटि व्यवस्थापनमा स्नातक गर्नु भएकी आश्मा कफि निर्माणमा निकै सिपालु हुनुहुन्छ । उहाँले भन्नुभयो “सिड्नीमा बस्दै गर्दा यो सिप नेपालमा प्रयोग गर्ने सोच हामीमा आयो र यहाँ फर्कीयौं ।”
दश बर्ष बाहिर हुँदा नेपालमा पनि धेरै परिवर्तन भई सकेको छ । यो परिवर्तन संग जुध्धै स्वादेशमानै संघर्ष गर्ने अठोटका साथ आँफुहरु फर्किएको आश्माको भनाई छ । बिदेशमा जस्तै यहाँपनि कफि पिउनेहरुको संख्या बढेको उहाँले बताउनुभयो । आफ्नै घरको पहिलो तल्लामा रु १५ लाख हाराहारी खर्च गरि यो दम्पतीले चिटिक्कको कफि सप तयार गरेको छ ।
अष्ट्रेलियामा चलेका कफिका स्वादहरु मात्र होईन कफि संगै अध्ययनका लागि पुस्तकहरु पनि राखिएका छन् । कफि सपमा हटकफि, कोल्ड कफि संगै कफिबाट बन्ने बिभिन्न परिकार संगै मिल्क सेक पनि उपलव्ध छन् । छिट्टै भारतको एक सय बीस वर्ष पुरानो दुधकोला पनि बिक्रि गर्ने लक्ष्य दम्पतीले लिएको छ । बिभिन्न लेखकका पुस्तक पढ्दै कफि पारखिहरु कफिमा रमाएको देखिन्छ । आश्मा भन्नुहुन्छ “कफि सपलाई बुक क्याफेको रुपमा चिनाउने मेरो रहर छ ।”
प्रदिपका अनुसार कफि सपमा २० दिनको कफि तालिम र १५ दिनको हस्पिटालिटि सम्बन्धि तालिम पनि दिईदै आएको छ । माघ १ गते यो व्यवसाय सुरु भएको हो । हाल सम्म १७ जनाले कफि बनाउने तालिम र तीनै मध्येक १२ जनाले हस्पिटालिटि तालिम पनि लिएका छन् । हस्पिटालिटि तालिममा वेटर र वेट्रेस तालिम पर्दछन् ।
तालिम लिने अधिकांश बिदेश जानेहरु भएका प्रदिपले जानकारी दिनुभयो । तालिम लिन आउनेहरुलाई यो दम्पतीले बिदेशको संघर्ष र आबश्यक सिपका बारेमा पनि बुझाउँदै आएको छ । कफि सपमा अन्यत्र नपाईने स्वादका कफि संगै पेय पदार्थ बिक्रि गर्ने सोच दम्पती संग छ ।
आश्माले भन्नुभयो “अर्काको देशमा सिप सिक्ने हो । काम आफ्नै देशमा गर्नुपर्छ ।” आठ बर्षकी छोरीलाई शिक्षा दिक्षा दिदै स्वदेशमानै व्यवसायमा जम्ने अठोट यो दम्पतीले लिएको छ । आश्माले थप्नुभयो “मेहनत गर्यो भने अष्ट्रेलियाको भन्दा बढि कमाई हामी यहि गर्न सक्छौ भन्ने हाम्रो अठोट छ ।” भर्खरै व्यवसाय सुरु गरेकाले काम गर्ने सहयोगी छैनन् । गर्नुपर्ने सबै काम दम्पतीले आँफै गरेका छन् ।