चितवनः कोरोना भाईरसको डरले पर्यटक आउन छाडे पछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकार संग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका बढाईदिन उनीहरुले आग्रह गरेका हुन् ।

क्षेत्रीय होटल संघले बैठक बसि सरकार संग व्याज छुट र किस्ताको भाका बढाईदिन माग गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष दिपक भट्टराईका अनुसार कम्तिमा ६ महिनाको व्याज मिनाहा गरीदिन र किस्ताको भाका पछाडी सारीदिन सरकार संग माग गर्ने निर्णय गरिएको छ । नेपाल होटल एशोसीएसनले यहि चैत ५ गते बैठक बोलाएको भन्दै भट्टराईले सो पश्चात सरकार संग माग अघि बढाईने जानकारी दिनुभयो ।

पर्यटकको मूख्य मौषममा कोरोना भाईरसको प्रभाबले सौराहाका होटलहरु सुनसान जस्तै भएका छन् । अहिले भएका बिदेशी पर्यटकहरु समेत आफ्नो देशले फिर्ता बोलाए पछि फर्कन थालेका छन् । नयाँ सबैको बुकिङ् रद्द भएको छ । उहाँका अनुसार अहिले दैनिक दुई सयको हाराहारीमा मात्र पर्यटक रहेका छन् । गतवर्ष यतीवेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए ।

अहिलेको कमाईले कर्मचारीको दैनिक खानपान समेत धान्न नसके पछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन् । सौराहामा १ सय १५ वटा होटल संञ्चालनमा रहेका छन् । भट्टराईको भनाईमा एउटा होटलको रु १ करोड देखि ३० करोड सम्म बैंकीङ ऋण रहेको छ ।

एकिन तथ्याङ्क नभए पनि सौराहाका होटल बनाउन रु ८ अर्ब भन्दा वढि लगानी भएको व्यवसायी बताउँछन् । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण रहेको छ ।

सौराहामा द्धन्द्ध काल संगै भूकम्प र नाकाबन्दिको समयमा व्यपारमा निकै गिरावट आएको थियो । अहिले त्यो भन्दा वढि प्रभाब देखिने अबस्था आएको व्यवसायीहरु बताउँछन् । त्यतिवेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपाली समेत बाहिर निस्कन डराएको देखिन्छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।

कोरोनाको प्रभाव होटलमा देखिए पछि यसले अन्य क्षेत्रमा नराम्रो असर पुर्याएको छ । पर्यटकबाट आश्रीत साना होटल, रेष्टूरेन्ट, पसलहरु, डुङ्गा, हात्ती, जिप, पर्यटक बस जस्ता पर्यटन व्यवसाय प्रभाबित भएका छन् । जसबाट सरकारको राजस्वमा पनि प्रभाब देखिने भएको छ । यस संगै कुखुराको मासु र अण्डाको खपत घटे पछि मूल्यमा गिरावट आउन थालेको छ । व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकीने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आबश्यक रहेको अध्यक्ष भट्टराई बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस !