चितवनः जिल्लामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । भरतपुर अस्पतालले एक जनाकलाई कोरोनाको संक्रमणको आशंकामा नमुना परिक्षणका लागि पठाएकोमा उनको नतिजा नेगेटीभ आए संगै संक्रमण नरहेको पुष्टि भएको हो ।
भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरि उनको रगत परिक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएको थियो ।
प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको संक्रमण नरहेको उहाँले जानकारी दिनु भयो । भरतपुर अस्पतालबाट यस अघि पठाईएका दुई वटा नमुनाको नतिजा पनि नेगेटीभ आएको थियो ।
अस्पतालले कोरोनाको संकेत देखिएका व्यक्तिलाई आईसोलेसन वाडमा राखेर नमुना परिक्षणका लागि काठमाडौं पठाउने गर्दछ । अस्पतालमा कोरोना भाईरसको संक्रमणका बिरामीहरुलाई राख्नका लागि १९ शैयाको आईसोलेसन वाड संञ्चालन गरिरहेको छ ।
अस्पतालका प्रमुख मेडीकल सुपरीटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोनाको संक्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाईएको बताउनुभयो ।