चितवनः उद्योग वाणिज्य संघ चितवनले व्यवसाय क्षेत्रलाई संक्रमणकाल घोषणा गर्न माग गरेको छ । संघले आज एक बिज्ञप्ति जारी कोरोना भाइरसका कारण उद्योग व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै व्यवसायिक संक्रमणकाल घोषणा गर्न सरकारसँग माग गरेको हो ।
उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय तथा सर्वसाधारणको दैनिक जीवनमा समेत यसले असर पारेको भन्दै संघले सरकारसँग बैंक तथा वित्तीय संस्थाको व्याज मिनाह गर्ने व्यवस्था गर्न माग गरेको छ ।
संघका अध्यक्ष राजु श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा सबै कारोबार ठप्प रहेको अवस्थामा व्यवसायीहरुको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज बुझाउने अवस्था नरहेको उल्लेख गरिएको छ । “यो अवस्थाका कारण व्यवसायीहरु हतोत्साहित हुने अवस्थामा पुगेका छन्”, विज्ञप्तीमा भनिएको छ, “व्यवसायिक संक्रमणकाल घोषणा गरेर उक्त समयावधिको बैंक तथा वित्तीय संस्थाको व्याज मिनाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछौं ।”
विज्ञप्तीमा दैनिक उपभोग्य सामग्रीहरु सर्वशुलभ उपलब्ध गराउन व्यवसायिहरुलाई आग्रह पनि गरिएको छ । उपभोक्तालाई अभाव हुने आशंकामा आवश्यक भन्दा बढी सामान खरिद र भण्डारण गर्न पनि संघले अपिल गरेको छ ।