चितवनः नोबेल कोरोना भाईरसबाट बच्न भरतपुर बिमानस्थलमा आजबाट पुनः स्वास्थ्य कक्ष (हेल्थ डेस्क) संञ्चालनमा ल्याईएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रबर्धन शाखाको संयोजनमा कक्ष संञ्चालनमा ल्याईएको हो ।
गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष संञ्चालन गरिएको भए पनि त्यस पछि बन्द गरिएको थियो । पुनः आजबाट सञ्चालनमा ल्याईएको हो । नागरिक उड्ययन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरि स्वास्थ्य कक्ष संञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रबर्धन शाखाका सह संयोजक सूर्य तिवारीका अनुसार दुई जना प्यारामेडीक्स र एक जना नर्सिङ् स्टाफ कक्षमा रहेका छन् । उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् ।
बिदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परिक्षण गरिने छ । ती बिरामीका कोरोना भाईरसको लक्ष्यण देखिएमा भरतपुर अस्पतालमा रहेको आईसोलेसन कक्षमा पठाईने व्यवस्था मिलाईएको छ । नागरिक उड्ययन प्राधिकरण भरतपुरका प्रमुख पवन कुमार गौतमले चितवन पर्यटकीय जिल्ला समेत भएकाले बिदेशी र स्वादेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः संञ्चालनमा ल्याईएको बताउनुभयो ।
बिचको समयमा त्रास कम भए संगै रोकीएकोमा पुन संञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो । यस्तै कार्यालयले आज सूचना जारी गरि हवाई यात्रुलाई स्वागत तथा बिदाई गर्न आउनेहरुलाई अत्याबश्यक अबस्थामा बाहेक बिमानस्थल क्षेत्रमा प्रबेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्ष्यण रुघा खोकि तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा बिमानस्थल क्षेत्र प्रबेश नगर्न अनुरोध समेत गरेको छ ।
भरतपुर बिमानस्थलबाट काठमाडौं र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् ।ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् ।
दुई महोत्सब स्थगित
कोरोना रोगको संक्रमण हुन सक्ने भन्दै जिल्लामा संञ्चालन भईरहेको एउटा र हुन लागेको अर्को एउटा महोत्सब स्थगित गरिएको छ । स्थानीय प्रशासनको पहलमा संञ्चालन भईरहेको भरतपुर महोत्सब आजबाट स्थागित भएको छ ।
यही फागुन १६ गतेबाट संञ्चालनमा आएको महोत्सब ६ दिनमानै बन्द गरिएको हो । महोत्सब फागुन २७ गते सम्म संञ्चालन गर्ने भनिएको थियो । त्यसै गरि राप्ती नगरपालिकाको परेवाकोटमा बुधबारबाट सुरु गर्न लागेको महोत्सब पनि रोकीएको छ । पश्चिम चितवनमा भईरहेको मेघौली महोत्सब पनि स्थगित गर्नका लागि स्थानिय प्रशासनले ताकेता गरेको छ ।
मेला महोत्सब नगर्न महानगरको अनुरोध
भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्ब, मेला, महोत्सब जस्ता कार्यक्रम संञ्चालन नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरि जारी गरिएको सुचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गरिएको छ । यस सूचना बिपरित यस्ता कार्यक्रम संञ्चालन गरेमा नियमानुसार कारवाही हुने जनाईएको छ ।