चितवनः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल बिकास र संम्बृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताउनुभएको छ । नेपाल पोल्ट्री महासंघले आज देखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्नुहुँदै उहाँले व्यवसायको क्षेत्रमा बिभिन्न ठाउँमा अनुसन्धानहरु गर्ने, प्रयोग गर्ने र उत्पादकत्व बृद्धि गर्नुपर्ने बताउनुभयो ।
हामीलाई ईतिहासका बिगतका थुप्रै नकारात्मक बिरासतहरुले पच्छाईरहेको भन्दै उहाँले अगाडी जान धेरै अफ्ठ्याराहरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो “फेरी पनि व्यवसायको क्षेत्रमा बिभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व बृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा बिभिन्न क्षेत्रमा पहल कदमीहरु भईरहेका छन् ।”
बिश्वभरीका बिभिन्न कम्पनिहरु र त्यसका प्रतिनिधिहरुका स्टलहरुलाई यहाँ देख्न पाउँदा आँफु निकै खुशि भएको भन्दै उहाँले यो एउटा अन्तरक्रिया गर्ने माध्यम बनेको बताउनुभयो । नयाँ प्रबिधिहरु बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बनेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो “नेपालको समग्र बिकासको प्रयासमा एउटा नयाँ योगदानको आधार बनेको महशुस गरेको छु ।” यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रबर्धनमा टेवा पुर्याएको उहाँको भनाई थियो ।
पोल्ट्री व्यवसायमा नेपाल आत्मनिर्भर रहेको भन्दै उहाँले अत्याधुनिक प्रबिधि भित्र्याएर व्यवसायीले काम गर्नु सुखद रहेको बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालको पोल्ट्री व्यवसाय हाल संकटमा रहेको भन्दै सरकारबाट अपेक्षा कृत सहयोग हुन नसकेको गुनसो गर्नुभयो । तीन दिन सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रर्दशनी मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्यूचरेक्स एण्ड ईभेण्ट प्रा.ली.को सहकार्यमा भएको हो ।
प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगाएतको सम्पूर्ण पशुपन्छी पालन लगाएतका बिषयमा जानकारी दिईने छ । यस्तै नेपाल भेटेनरी संघको सहकार्यमा चार दिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले जानकारी दिनुभयो ।
दुइृ सय वटा स्टल रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति , स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगाएतको प्रत्यक्ष संलग्नता रहेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ संगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, ईटाली, इजराईल, बांग्लादेश लगाएतका देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !