पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । कथा संग्रह एक हप्ता भित्र वजारमा आउदै छ ।
सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले वजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाईको काम सम्पन्न भएको प्रालीका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।
“हामी एक हप्ता भित्रै वजारमा ल्याउने गरि गृहकार्य गरि रहेका छौ”, उहाँले भन्नुभयो ।
‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार वसन्त पराजुलीले जानकारी दिनुभयो ।
“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छ”, पराजुलीले भन्नुभयो । गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास ,यौन , धोका ,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।
विभिन्न कारणले दुःख पाएका र गल्ती महसुस गरेका केही पात्रहरु भने सचेतना अभियानमा लागेर सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको छ ।
बरिष्ठ सहित्यकार एवं लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएका वताउनुभएको छ ।
उहाँ लेख्नुहुन्छ, “अधिकाँश कथामा पुरुष बैदेशिक रोजगारीमा गएका ,विश्वासघात गरेका देखाइएका छन् भने नारी पात्रले छिटो विश्वास गर्नेगरेका, धोका पाएका र यौनकुण्ठा देखाइएका छन् ।”
कथाका विषयवस्तु र परिवेशलाई सहज र सम्प्रेषणीय बनाइएकाले पनि पराजुलीका कथाहरु आधुनिक नेपाली कथाको मार्गमा नयाँ गोरेटो वनेको पनि उहाँले वताउनुभयो । १० वटा कथामा ११२ पेजको कथासङग्रहको मूल्य दुई सय रुपियाँ कायम गरिएको छ । पराजुली झण्डै दुई दशक देखि गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ भने त्यो भन्दा बढि समय देखि स्थानीय चितवन पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । पराजुलीले राष्ट्रिय र स्थानीय पत्र पत्रिकामा समय सन्दर्भ अनुसारका बिषय बस्तुहरुमा लेख समेत लेख्दै आउनु भएको छ ।