
चितवनः नेपाल पोल्ट्री महासंघको अन्तराष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । यहि फागुन १६ गते देखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० गर्न लागेको हो । महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरि तीन दिन सम्म अन्तर्राष्ट्रिय प्रर्दशनी गर्न लागिएको जानकारी गराएको हो ।
महासंघको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्यूचरेक्स एण्ड ईभेण्ट प्रा.ली.को सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगाएतको सम्पूर्ण पशुपन्छी पालन लगाएतका बिषयमा जानकारी दिईने छ । यस्तै नेपाल भेटेनरी संघको सहकार्यमा चार दिने पोल्ट्री पाठशालाको आयोजना गरिने आयोजकले जनाएको छ ।
करिब २ सय स्टल रहने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति , स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगाएतको प्रत्यक्ष संलग्नता रहने महासंघका महासचिब दिनेशराज मिश्रले जानकारी दिनुभयो । प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ संगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, ईटाली, इजराईल, बांग्लादेश लगाएतका देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागीता रहने महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले बताउनु भयो ।
हरेक दुई दुई बर्षमा आयोजना गरिने प्रदर्शनी भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गरिदै छ ।