
गृहमन्त्री राम वहादुर थापा बादलले निर्यात मुखि अर्थतन्त्र सबल हुनुपर्ने बताउनु भएको छ । व्यापार तथा निकासी प्रबर्धन केन्द्र काठमाडौंको आयोजनामा आजबाट रत्ननगरमा सुरु भएको पाँच दिने व्यापार, बिश्लेषण तथा निकासी प्रबर्धन सम्बन्धि तालिमको उद्घाटन गर्नुहुँदै उहाँले औद्योगिक, व्यापार र अर्थनितिको बिश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उत्पादन वढाएर निर्यात तर्फ जोड दिनुपर्ने पनि बताउनुभयो । आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकार लागि परेको भन्दै उहाँले सुरक्षा कर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताउनुभयो । ठाउँठाउँमा चौकीहरु निर्माण र पुनः निर्माणको काम भईरहेको पनि थापाको भनाई थियो ।
जिल्ला जिल्लामा प्रहरीको दरवन्दि अभाव भएको भन्दै मन्त्री थापाले प्रदेश प्रहरी गठनको प्रकृया अघि वढेकाले त्यस संगै अहिलेको समस्या समाधान हुने बताउनु भयो । अर्को एक प्रसंगमा देशै भरका राजमार्गमा राखिएका सडक बोडको दस्तुर संकलन केन्द्रले समस्या बनाएको भन्दै उहाँले ती केन्द्रलाई जिल्लाको सिमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रकृया अघि वढाईएको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।” सुखि नेपाली सम्बृद्ध नेपाल वनाउन सरकारले बिकासको गतिलाई तिब्र बनाएको उहाँले बताउनुभयो ।
तालिमको उद्योग वाणिज्य संघ रत्ननगरले सहजिकरण गरेको हो । संघका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणा लगाएतले बोल्नु भएको थियो ।