
चितवनः पाँच दिनदेखि आमरण अनसन बसिरहनु भएका माडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उहाँ फागुन ७ गतेबाट अनसनमा बस्नु भएको हो ।
उहाँको स्वास्थ्य अवस्थाको बारेमा आज भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । तिवारीका अनुसार उहाँको पिसाबमा किटोनको मात्रा २ नाघेको छ । सामान्य मानिसमा शुन्य हुनु पर्ने किटोनको मात्रा बढेको हो । त्यसैगरी शरीरमा चाहिने ग्लुकोजको मात्रा घटेपछि शरीरबाटै प्रोटिन र फ्याट टुक्रिएर ग्लुकोज बन्न थालेको उहाँले जानकारी दिनुभयो । त्यस्तै अक्सिजनको मात्रा घटेको, मुटुको चाल बढेदै गएको र अनियमित बनेको छ ।
उहाँलाई कार्डियक मनिटरमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । तिवारीका अनुसार भरतपुर अस्पतालबाट मनिटर लगेर अनसनस्थल नजिकैको स्वास्थ्य चौकीमा जोडेर राख्ने तयारी गरिएको छ । चिकित्सक टोलीले बघौडा अस्पतालमा जान आग्रह गरेको भए पनि पौडेलले अस्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।
पौडेललाई विशेषज्ञ चिकित्सक सहितको टोलीले हेर्नुपर्ने भएकाले भरतपुर अस्पताल ल्याउन सुझाव दिएको उहाँको भनाई छ । तिवारीसँगै भरतपुर अस्पतालका डा. प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी र प्रयोगशालाका अनिल न्यौपानेले पौडेलको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
आजै अनसनस्थलबाट स्थानीयले माग पूरा गर्न दवाव दिंदै मोटरसाईकल ¥याली गरेका थिए । ¥यालीको शुभारम्भ गर्दै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले राज्यले पौडेलले राखेका माडीवासीसँग प्रत्यक्ष सरोकार राख्ने माग पूरा गरेर जीवनरक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
¥यालीले माडी क्षेत्रमा रहेका चार वडा मध्यवर्ती उपभोक्ता समितिमा पुगेर त्यहाँका कार्यालय बन्द गराएका छन् ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनु पर्ने उहाँको माग छ । राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संसोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ शंसोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः शंसोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा वालीको क्षतीपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवत जावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रको रुपमा विकास गर्न बिशेष योजना ल्याईनु पर्ने, प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उहाँका छन् ।
आफ्ना मागहरु प्रति सरकार गम्भिर नभए र मागको सम्बोधन नभए सम्म आन्दोलन जारी रहने वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “नगर प्रमुख र उपप्रमुख सहितको टोलि काठमाडौं गएको सुनेको छु । तर आँफुलाई भेट्न आउनु भएन । आफ्ना माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने छ ।”
स्थानीय जनताको मागलाई लिएर वडा अध्यक्ष अनसनमा बसेको भन्दै स्थानीय यस आन्दोलनलाई सार्थकन नवनाए सम्म पछि नहट्ने बताएका छन् ।