चितवनः माडीका जनताको माग पुरा नभएको भन्दै अनसन बस्ने प्रचार बाजी गरेका मेयर ठाकुर ढकाल पार्टी र सरकारको बदनाम हुने जनाउँदै पछि हटेपछि सोही नगरपालिकाको वडा नम्बर एकका अध्यक्ष कृष्ण प्रसाद पौडेल बुधबार साँझबाट आमरण अनसन बसेका छन् । उनी संगै वडा सदस्यहरु र स्थानीय जनताले पनि अनसनमा साथ दिएका छन् ।
प्रमुख ढकाल सत्ता पक्षका नेता हुन भने वडा अध्यक्ष पौडेल माडी नगरपालिकामा काँग्रेसबाट निर्वाचित एकमात्र वडा अध्यक्ष हुन । माडीका जनताको माग पुरागर्न प्रमुख ढकाल संगै अनसनको तयारी गरेका पौडेलले ढकालले माडीबासिलाई धोका दिएकाले आँफु्ले अनसन सुरु गर्नुपरेको बताउनु भयो ।
माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले आमरण अनसन सुरु गर्नु भएको छ । माडीबासीहरुको अति आबश्यक मागहरु प्रति राज्य उदासिन वनेको भन्दै वडा अध्यक्ष पौडेल सहित वडा सदस्यहरु बिभिन्न सात बुद्धे मागहरु राख्दै आमरण अनसन सुरु गर्नु भएको हो ।
मागहरुमा राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संसोध गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ शंसोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै संबोधन गर्न नसकेको हुदाँ मानव अधिकार सहितको संरक्षणका लागि पुनः शंसोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्धन्द्ध निवारणका लागि ठोस रुपमा वन र बस्तीबिच बैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा वालीको क्षतीपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरा देखि वनकट्टा साथै बगर्ही देखि बाँदरझुला सम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवत जावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबको रुपमा बिकास गर्न बिशेष योजना ल्याईनु पर्ने, प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु राख्दै वडा अध्यक्ष पौडेल, वडा सदस्यहरु शिव बहादुर कार्की र अमित लामा सहित स्थानीहरु आमरण अनसन सुरु गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
माडीबासी जनताहरुको तर्फबाट आमरण अनसनको नाम दिईएर सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिका प्रमुख ठाकुर ढकालले आजबाट सुरु गर्ने भनिएको अनसन स्थागित गरे संगै वडा अध्यक्ष सहितको टोलिले अनसन सुरु गरेको हो ।