सरकार पूर्ण रुपमा असफल भयो : उपसभापति निधि

चितवनः नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारको दुई बर्षको कार्यकाल पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको सरकार दुई वर्ष कायम रहनुनै ठूलो उपलव्धि रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सरकारको अहिलेको दुई बर्ष कुर्सिमा बस्ने मात्रै भएको छ । यसलाई ठूलो उपलव्धि भएको ठान्नेहो भने यो सरकार कस्तो सरकार हो ।” जनताको सरकारले देश र जनताको लागि गर्नु पर्ने काम समेत गर्न नसकेको उहाँको आरोप थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजा प्रसाद कोईरालाको बिषयमा भनेका कुरा हास्यास्पद रहेको बताउनुभएको छ । बिति सकेका मान्छेको नाम लिएर आफु चर्चामा आउने कुरा मात्रै भएको उहाँको भनाई थियो ।
आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको उपसभापति निधिले बताउनु भयो । काङ्ग्रेसको अहिलेको रुचिको बिषय सरकार परिवर्तन नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकार परिवर्तनको बिषय सत्ता पक्षको आन्तरिक बिषय भएको उहाँको भनाई थियो । उपसभापति निधिले भन्नुभयो “हामी सरकार ढाल्नेमा छैनौ । आफ्नै महाधिबेशनको तयारीमा जुटेका छौ ।” नेपाली काङ्ग्रेसको चौधौं महाधिबेशन सार्वजनिक भएको तालिका अनुसार सम्पन्न हुनेमा उहाँको बिश्वास थियो । पार्टी भित्र सैद्धान्तीक बिषयमा कुनै मतभेद नरहेको भन्दै उहाँले नेपाली काङ्ग्रेस बिधान र सहमती अनुसारनै चलेको दाबि गर्नुभयो ।
काङ्ग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबि गर्दै उहाँले सरकारले ल्याएका जनबिरोधी कानुनहरु जस्ताको तस्तै पारित गर्न काङ्ग्रेसले नै रोकेको बताउनुभयो । काङ्ग्रेस जिम्मेवार र शालिन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उहाँको भनाई थियो । सरकारको दुई बर्ष पूर्ण रुपमा असफल भएको दाबि गर्दै उहाँले महंगी वढेको, शान्ति सुरक्षा कायम हुन नसकेको, बिदेश नीति कम्जोर बनेको र बिकास निर्माण हुन नसकेको बताउनुभयो ।