चितवनः ठूला व्यवसायीक घरानाका समेत लेखा राख्ने तीन जना सिए (चार्टर एकाउण्टेन्ट)ले सोखको रुपमा यहाँ आफ्नै एक्वेरियम व्यापार गरेका छन् । लेखा परिक्षण मात्र होईन आँफैले व्यापार गर्दा हुने ज्ञान र सोखका लागि उनीहरुले व्यापार सुरु गरेका हुन ।
नारायणगढको प्रगतिपथमा नेपाल एक्वेरियम एण्ड डेकोरेसन हाउस नामक व्यवसायका संञ्चालकमा सिएहरु शुशिल घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मी हुनुहुन्छ । घिमिरे र आलमले दिल्लीबाट र रेग्मीले नेपालमानै अध्ययन गरि सिए उत्तीर्ण गर्नु भएको हो । भरतपुर र काठमाण्डौंमा लेखा परिक्षण गर्ने कार्यालय संञ्चालन गर्नुभएका उहाँहरुको नारायणगढको यो व्यापार फरक ढङ्गले संञ्चालन भएको छ ।
घिमिरेका अनुसार तीन जना मिलेर रु ४० लाख लगानीमा तीन वर्ष अघि व्यवसाय सुरु भएको हो । चीन र थाईल्याण्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवन सहित बिभिन्न जिल्लामा बिक्रि गरिदैं आएको छ । यस संगै थाईल्याण्डबाट ४० प्रजातीका माछा झिकाएर यहाँको बजारमा बिक्रि गरिने घिमिरेले जानकारी दिनुभयो । रिसाहा र शान्त प्रजातीका ती माछा सफा पानीमा रमाउने माछा हुन ।
आलमका अनुसार यस बर्ष रु १ करोडका माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गा लगाएतका बस्तु बिक्रि गर्ने लक्ष्य राखिएको छ । नियमीत सेवा लिन आउनेहरुको संख्या २ सय ५० हाराहारी भएको उहाँले जानकारी दिनुभयो । रु २ हजार ५ सय देखि २ लाख सम्मका एक्वेरियम उहाँहरुले बिक्रि गर्दै आउनु भएको छ ।
उच्च गुणस्तरका खाना संगै माछाको उपचार समेत हुने भएकाले धेरैको मन जित्न सकेको रेग्मीले बताउनुभयो । बास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । आलमको भनाईमा जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालीकाहरुमा मात्र होईन बृद्धबृद्धा सम्मलाई आनन्द दिलाउँछ । उहाँले थप्नुभयो “अनेक थरिका रोगीहरुका लागि पनि माछाको दृश्य फाईदाजनक हुन्छ ।” त्यसमा पनि मुटुका रोगीहरुका लागि पनि उपयुक्त हुने उहाँको भनाई छ ।
मकवानपुर र नवलपरासी देखि माछा लिन यहाँ आउने गर्दछन् । देशै भर व्यवसाय बिस्तार गर्ने तयारीमा रहेको उहाँको भनाई छ । नियमीत लेखा परिक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उहाँहरुले बताउनुभयो ।
संञ्चालकहरु मध्येका घिमिरेले भन्नुभयो “आम्दानी त धेरै हुँदैन, तर यो व्यवसायले ज्ञान संगै आनन्द भने दिलाएको छ ।”