चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गा धनि पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाईल अगाडी वढाउनेलाई मुद्धा दायर गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मन्त्री परिषदको सर्बोच्च प्रधानमन्त्री हुने र मन्त्री परिषदबाट पास गराउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजियो ।” उहाँले थप्नुभयो “अख्तियार सरकारबाट प्रभाबित भयो र जग्गा हुनेलाई कारवाही गर्न डरायो ।” जग्गा धनिले जग्गा फिर्ता गर्छु भन्दा उन्मुक्ति पाउने र मन्त्री परिषदबाट पास गराउने प्रधानमन्त्री निर्दोशा हुने कस्तो बिडम्बना उहाँले भन्नुभयो ।
काङ्ग्रेसको माग तत्कालीन मन्त्री मात्रै होईन प्रधानमन्त्री र जग्गा धनि पनि दोशी हुन उनीहरुलाई पनि कारवाही हुनुपर्छ भन्ने रहेको उहाँको भनाई थियो । यसैका लागि काङ्ग्रेसले संसद अबरुद्ध गरेको उहाँले स्पष्ट पार्नुभयो । अख्तियारले राजनैतिक पूर्वाग्रह बिना स्वतन्त्र रुपमा छानबिन गर्नु पर्ने उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले काङ्ग्रेसले १४ औं महाधिबेशनका लागि तयारी सुरु गरेको बताउनुभयो । महाधिबेशनको मिति तय भईसकेको र स्वतन्त्र र निस्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिन देखि सबै समिति बनाएर अघि वढेको उहाँका भनाई थियो ।