चितवनः महान्यायधिबक्ता अग्नी प्रसाद खरेलले अपराध र यसको प्रकृति बढ्दा अनुसन्धानमा कठिनाई भएको बताउनु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलन्यास गर्नुहुँदै उहाँले अपराधको प्रकृति वढ्दै जाँदा अनुसन्धान अधिकृतलाई समेत अनुसन्धानमा कठिन हुने गरेको बताउनुभयो । अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हु्ने भएकाले अपराधिले उन्मुक्ति पाउन सक्ने उहाँको भनाई थियो ।
अपराधिले उन्मुक्ति नपाउने गरि काम गर्न निर्देशन दिनुहुँदै उहाँले दक्ष जनशक्तिको अभावले काम गर्न भने कठिन भएको बताउनुभयो । बिगत पाँच वर्ष यता मुद्धाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उहाँले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा मात्र हरेक वर्ष २ हजार भन्दा बढि फौजदारी मुद्धा हुनेगरेको बताउनु भयो । ती जिल्लामा सह न्यायधिबक्ता राख्नुपर्ने उहाँको भनाई थियो ।
१ सय ५० वटा मुद्धालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यस अनुरुपको जनशक्ति अभाव रहेको उहाँले वताउनुभयो । घटना सार्वजनीक हुँदा अपराध अनुसन्धानमा सहज हुने गरेको भन्दै उहाँले पत्रकारलाई भन्नुभयो “घटना सार्वजनीक गर्नुस् । अपराध अनुसन्धानमा सहज हुन्छ ।”
उजुरी परेपछि तत्काल पक्राउ भन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उहाँको धारण थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेहरुको जीवन कष्टकर हुने गरेको भन्दै उहाँले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा नायव महान्यायधिबक्ता नारायण प्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायधिश हेमन्त रावल, जिल्ला अदालत बार एशोसीएशन चितवनका अध्यक्ष कमल पाठक लगाएतले बोल्नु भएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सन संग सम्झौता भएको छ । सो कम्पनीले रु ४ करोड ९८ लाख ७१ हजानर १ सय ४१ मा बोलपत्र सकार गरेको हो । बि. सं. २०७८ साल मंङ्सीर १८ गते सम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ । साँढे तीन तले अपाङ्ग मैत्री भवनमा २४ कोठा हुने छन् । थुनुवा कक्ष, वयान कक्ष सहितको सो भवनमा ६ जना सरकारी वकिल रहन सक्ने गरि कोठा व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !