चितवनः भ्रमण वर्ष सन २०२० का अबसरमा बिभिन्न देशका राजदुतहरुलाई आज चितवन राष्ट्रिय निकुञ्ज घुमाईने भएको छ । ६ वटा देशका राजदुत, युरोपियन युनियनका प्रतिनिधि, बिश्व बैंक एशियाका प्रमुख लगाएतका बिशिष्ट अधिकारीहरु समेत सहभागी हुने छन् ।
बागमती प्रदेश र भ्रमण वर्ष सन २०२० प्रदेश स्तरीय प्रवर्धन समितिले राजदुत र बिशिष्ट अधिकारीहरुलाई निकुञ्ज घुमाउन लागेको हो । प्रवर्धन समितिका सह संयोजक अनिल लामाका अनुसार श्रीलंका, मलेसिया, अष्ट्रेलिया, भारत, रसिया र बेलायतका राजदुतहरुलाई यहाँ घुमाउने र पर्यटकीय गतिबिधिमा समाबेश गराउन लागिएको छ ।
लामाका अनुसार उनीहरुलाई निकुञ्ज भित्र जंगल सफारी संगै सौराहामा हात्तिका फुटवल, पोलो लगाएतका गतिबिधि देखाईने छ । आजै साँझ रात्रिकालीन भोज सहितको साँस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको उहाँले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकार संगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायीक वनहरु, सौराहाका होटल र रेष्टूरेन्टहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा २१ देशका राजदुत सहभागी हुने योजना भएको भएपनि प्राबिधिक कारणले सबै देशका राजदुत उपस्थित गराउन नसकीएको उहाँले जानकारी दिनुभयो ।
गत साता बेल्जीयमकी राजकुमारी एष्ट्रीडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नु भएको थियो । भ्रमण वर्षमा बिभिन्न देशका राजदुत र बिशिष्ट पाउनाहरुलाई भ्रमण गराउन सकेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुने अपेक्षा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस !