चितवनः नारायणगढमा आज देखि सुरु हुन लागेको कोटिहोम महायज्ञ बिबादीत भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी नहुने हुनुभएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार यहाँ आईपुग्नु भएको थियो ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरि कार्यक्रमका लागि चितवन आएको भए पनि पछि कार्यक्रम बिबादीत भएकाले सहभागी नहुने निर्णय गर्नु भएको जानकारी दिनुभयो ।
स्थानीय प्रशासन संगको छलफल पछि बिबादीत कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौं फर्कन लाग्नु भएको मगरले जानकारी दिनुभयो । आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवं प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउनु भएका पुन कार्यक्रम बिबादीत भएको भन्दै सहभागी नहुनु भएको हो ।
आज देखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गईरहेको छ ।