चितवनः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि महायज्ञबाट रु.५० करोड ७६ लाख ७६ हजार ५० संकलन गर्ने लक्ष्य लिईएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखहरुलगायत विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको महायज्ञमा सक्रिय सहभागिता रहेको छ ।
रंगशाला निर्माण स्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्यान्चल महोत्सव आयोजना गरिंदै छ । समितिका संयोजक प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यवसायिक घरानासम्मबाट सहयोग संकलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाका अनुसार उक्त रकम संकलन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
स्थानीयस्तर, संघ संस्था, एनआरएन, पालिकाहरु, सहकारी, बैंक वित्तिय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योगहरु, सरकारी कर्मचारी, खेलकुद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम संकलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्यान्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुहरुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो ।
कम खर्चमा ठूलो मात्रामा रकम संकलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । महायज्ञ मूल समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु.७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । जसबाट रंगशालालाई रु.५० करोड बचाउने योजना बनाईएको चुकेले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुखहरु, स्थानीय तहका प्रमुखहरु, उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० वटा उपसमिति गठन गरिएको छ ।
भरतपुर महानगरपालिकाको रामपुरमा रु.२ अर्ब ५० करोड खर्च गरेर रंगशाला निर्माण गरिंदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको नेतृत्व लिएको छ ।