चितवनः नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले लागु औषधले अपराधको ठूलो हिस्सा ओगटेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनमा आज यहाँ आयोजित मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन गर्दै उहाँले यो रोक्नका लागि अभिभावकहरु समेत सचेत हुनु पर्ने बताउनुभयो । अप्राकृतिक मृत्युमा ८० प्रतिशत लागु औषधको कारण भएको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले लागु औषधको माग घटाउनका लागि समुदाय स्तरमानै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “लागुऔषध प्रयोग कर्ता र ओसारपसार गर्नेको संख्या घटाउन समुदाय र बिद्यालयस्तरबाटै अगाडी वढ्नुपर्छ ।” लागुऔषध प्रयोग कर्ताको स्थितिलाई नियन्त्रण गर्नका लागि पनि सबै मिलेर अघि वढ्नु पर्ने उहाँको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय चितवन भित्र लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र सुरु भएको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रम अन्तरर्गत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागूऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्ने छ । लागूऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराईने छ । केन्द्रको सञ्चालन गर्न भरतपुर महानगर र नेपाल प्रहरीबीच सम्झौता भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख दाहालले लागुऔषध बिश्वका लागि चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । यसलाई रोक्नका लागि समुदाय स्तरमानै सचेतना जगाउन सक्नु अहिलेको आबश्यकता रहेको उहाँको भनाई थियो ।
चितवन देशकै मध्य भागमा रहेकाले यस्तो केन्द्रको आवश्यकता रहेको भन्दै दाहालले यसबारे जनचेतना फैल्याउन पाठ्यक्रममा पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो । यो समस्या समधान गर्न सबै क्षेत्रका व्यक्तिहरु सहभागीता बिना सम्भव नरहेको उहाँको भनाई थियो ।
दुव्र्यसनीमा फसेकाहरु नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा प्ररामर्श दिने लागूऔषध ब्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक बसन्त लामाले बताउनु भयो । बिज्ञ परामर्श दाताहरुबाट केन्द्रबाट सहजिकरण गरिने उहाँले बताउनुभयो । अहिले मदिरा र गाँजा बाहेक अन्य लागु औषध प्रयोग कर्ताको संख्या १ लाख ५० हजार देखि २ लाख सम्म रहेको उहाँको भनाई थियो । १६ देखि ४५ वर्ष उमेर समुहका बढि मात्रामा प्रयोग कर्ताहरु रहेको लामाले बताउनुभयो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी नायब महानिरीक्षक शेरवहादुर बस्नेत लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !