चितवनः नवलपुरको गैंडाकोटमा रहेको नारायणी बिजनेश ग्रुपले आफ्नो ग्रुपको दोस्रो प्रस्तुती यहि माघ ८ गतेबाट गैंडाकोटमानै सुरु गर्ने भएको छ । भ्रमण बर्ष सन् २०२० लाई लक्षित गर्दै गैंडाकोटको नारायणी बिजनेश ग्रुपले दोस्रो होटल संञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभबी ६ जनाको समुहले गैंडाकोट नगरपालिका वडा नम्बर २ स्थित राजमार्गमा होटल द नारायणी प्रा लि संञ्चालनमा ल्याएको हो ।
यस अघि यसै समुहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट संञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डीतका अनुसार हाल संञ्चालनमा ल्याईएको होटलमा ध्वनी प्रदुषण रहित ६ वटा वैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठाहरु रहेका छन् । जग्गा भाडामा लिएर रु ७ करोड लगानी गरि होटल संञ्चालनमा ल्याईएको हो ।
काठमाण्डौ, सौराहा र पोखरा देखि लुम्विनी आवतजावत गर्ने पर्यटकहरुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वत धाम, नारायणी नदीको रमणिय क्षेत्र जस्ता पर्यटकिय गन्तब्यको विचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पुर्याउने पण्डीतले बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग सगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच पुग्ने उहाँको भनाई छ । होटलका संञ्चालक बसन्त पराजुलीले आफ्नो समुहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबै भन्दा ठूलो सभाहल र पार्कीङ्को व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रमहरु धेरै हुने गरेको बताउनुभयो । सो होटलमा एक हजार भन्दा बढि क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाईमा यो होटल पर्ने गरेको छ । बि. सं. २०७४ मंसिर १ गतेबाट यो समुहले सो होटल संञ्चालनमा ल्याएको थियो ।
भ्रमण बर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । यो वर्ष चितवमा ४ लाख र नवलपरासीमा १ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल संञ्चालनमा ल्याएर यो समुहले पर्यटन प्रबर्धनमा सहयोग पुर्याएको बताउनुभयो ।
गैंडाकोट नगरक्षेत्रमा देबघाट धाम संगै मौलाकालिका मन्दीर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, मणी मुकुन्दसेन दरबार जस्ता धार्मीक पर्यटकीय स्थल र नारायणी नदी रहेको भन्दै उहाँले यस्ता होटलले पर्यटकको बसाई लम्व्याउने बताउनु भयो ।