चितवनः जिल्लाका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहीने समस्या देखा परेको छ । जसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो । जिल्लामा २ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिदैं आएको छ । ढकालका अनुसार बिजु बिरुवामा (सुन्तलाको बिउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो । लामो समय देखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उहाँले बताउनुभयो । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा यो समस्या धेरै देखिएको उहाँको भनाई छ ।

सुन्तलामा जरा कुहीने समस्या देखिए पछि कार्यालयले आकस्मिक बालि संरक्षण सेवा समेत सुरु गरेको उहाँले जानकारी दिनुभयो । विजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उहाँको भनाई छ ।
कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिए पछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी वोडोमिक्चर र वोडोपोष्ट बनाउने र प्रयोग गर्ने बिधि बारे जानकारी दिने काम गरिरहेको छ । सुन्तलामा जरो कुहीने समस्या देखिए पछि ३ देखि ५ वर्ष अन्य नगदे वालि लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनु पर्ने ढकालले जानकारी दिनुभयो । यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उहाँको भनाई छ ।
गत वर्ष १ हजार ६ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने ढकालले जानकारी दिनुभयो । अहिले कृषकहरुले सुन्तला टिप्ने काम गरिरहेका कारण यतीनै घट्छ भन्न नसकीने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !