
चितवनः पूर्बि चितवनको रत्ननगरमा यही पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने रत्ननगर महोत्सव– २०७६को तयारी तीब्र पारिएको छ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ । रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो ।
महोत्सव शुरु हुन एक हप्ता बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले न्यूजभित्तोलाई जानकारी दिनुभयो । महोत्सवका संयोजक रेग्मीका अनुसार महोत्सवलाई आकर्षक बनाउन विभिन्न जातजातिका साँस्कृति महत्त्वलाई झल्काउने गरी उनीहरुका घर निर्माण कार्यसमेत भइरहेको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका पाँच सय स्टल रहने महोत्सव संयोजक रेग्मीले बताउनुभयो । पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबारसमेत हुने आयोजकको अपेक्षा छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । महोत्सवमा पाँच सय स्टल बुकिङ भइसकेको र थप स्टलको माग भएपनि बढाउन सकिने अवस्था नरहेको रेग्मीले बताउनुभयो ।
रत्ननगर महोत्सवमा कृषि, पर्यटन र उद्योगको प्रवर्धनमा जोड दिईँदै आइएको छ । यसपटकको १०औँ संस्करणको महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनलाईसमेत प्राथमिकता दिइएको आयोजक उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष एवम् महोत्सव संयोजक रेग्मीले जानकारी दिनुभयो। भ्रमण वर्षलाई केन्द्रित गरी हेलिकप्टरमार्फत चितवनका पर्यटकीयस्थलहरुको भ्रमण गराउने व्यवस्थासमेत मिलाइएको उहाँले बताउनुभयो ।
महोत्वसमा ‘चिकेन एण्ड एग फेस्टिबल’ समेत आयोजना गरिएको छ । यो फेस्टिबल पुस २९ देखि माघ ४ गतेसम्म पाँच दिन चल्ने र महोत्सवमा गरिने यस प्रकारका फेस्टिबल मासु र अण्डाको खपत बढाउन सहयोगी हुने पोल्ट्री व्यवसायी एवम् उद्योग वाणिज्य संघ रत्ननगरका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताउनुभयो ।
महोत्सव संयोजक रेग्मीका अनुसार नेपाल भ्रमण वर्षलाई प्रवर्धन गर्ने शिलशिलामा महोत्सव परिसरभित्रै जीपलाइन सफारीसमेत सञ्चालन गरिने छ । जसका लागि अहिले भरतपुर आँपटारीको जलदेवी सामुदायिक वनमा जीपलाइन सफारी सञ्चालन गरिरहेको इको एडभेन्चर जीपलाइन सफारीसँग सम्झौता गरिएको छ ।